कल्की संवाददाता काठमाडौँ । सन् १९२४। संसारको सबैभन्दा अग्लो शिखर Mount Everest (सगरमाथा) अझै मानव पदचापको अन्तिम रहस्य बनेर उभिएको थियो। बेलायती आरोही George Mallory र उनका सहयात्री Andrew Irvine इतिहासकै सबैभन्दा साहसी आरोहणमध्ये एकमा निस्किएका थिए । सगरमाथाको चुचुरो जित्ने सपनासहित।
तर त्यो सपना हिउँभित्र हरायो।
मेलोरी र इर्भाइन दुवै बेपत्ता भए। संसारभर एउटा प्रश्न दशकौंसम्म अनुत्तरित रहिरह्यो । के उनीहरू एडमन्ड हिलारी र तेन्जिङ नोर्गेभन्दा २९ वर्षअघि नै सगरमाथाको चुचुरो पुगेका थिए?
ठ्याक्कै ७५ वर्षपछि, सन् १९९९ को मे १ मा, सगरमाथाको उत्तरी मोहडामा करिब ८,१५५ मिटर उचाइमा मेलोरीको शव भेटियो। हिउँले जोगाएर राखेको उनको शरीर इतिहासको मौन साक्षीझैँ देखिन्थ्यो। तर इर्भाइन अझै पनि हराइरहेका छन् । सायद उनीसँगै त्यो अन्तिम सत्य पनि हिउँमुनि दबिएको छ।
तर यो कथा केवल दुई बेलायती आरोहीहरूको मात्र होइन।
यो कथा त्यो नेपाली मोचिको पनि हो, जसको नाम इतिहासका मोटा पुस्तकमा प्रायः लेखिएन मानबहादुर।
उक्त आरोहण दलमा विशेष रूपमा जुत्ता सिल्नकै लागि एक मोचि लगिएको थियो। हिमाल चढ्ने ती कठोर यात्रामा जुत्ता केवल पहिरन थिएन, जीवन र मृत्युबीचको सीमा थियो। चिसो, हिउँ, हावाहुरी र बरफबीच एक थोपा कमजोरीले ज्यान लान्थ्यो। त्यसैले मानबहादुरको सियो र धागो पनि त्यत्तिकै महत्वपूर्ण थियो, जति मेलोरीको साहस।
आज भेटिएको भनिएको मेलोरीको यही जुत्ता सायद कुनै समय फाटेको होला, च्यातिएको होला, र त्यही बेला मानबहादुरले आफ्ना काँपिरहेका हातले सिलाएको पनि हुन सक्छ।
इतिहाससँग यसको प्रमाण छैन, तर कल्पनाले यो दृश्य अत्यन्त जीवित बनाइदिन्छ। विडम्बना के थियो भने, अरूका खुट्टा जोगाउने मानबहादुर आफ्नै खुट्टा जोगाउन सकेनन्। ‘सिभियर फ्रस्टबाइट’ का कारण उनका दुवै खुट्टा हिउँले खायो। त्यसमा निमोनियाले थप आक्रमण गर्यो। अन्ततः मे २५ का दिन आधार शिविरमै उनले अन्तिम सास फेरे। सगरमाथाको अभियानमा उनी शिखर चुम्न गएका थिएनन्, तर अरूलाई त्यहाँ पुर्याउने अदृश्य श्रमिक थिए।
त्यसै दलमा पाँच गोर्खा राइफलका लेस नायक शमसेर पुन पनि थिए। उनी पनि फर्केर आएनन्। उनको बलिदान पनि हिमालकै चिसो मौनताभित्र हरायो। इतिहासले मेलोरीलाई सम्झियो, तर शमसेर पुन र मानबहादुरजस्ता नेपाली सहयात्रीहरूलाई धेरै कम सम्झियो।
यहीँ प्रश्न उठ्छ, इतिहास कसको लेखिन्छ? शिखर चुम्नेहरूको, कि त्यो शिखरसम्मको बाटो बनाउनेहरूको?
सगरमाथाको इतिहास केवल विजयको कथा होइन, यो श्रम, बलिदान, अदृश्य पीडा र बिर्साइएका नामहरूको इतिहास पनि हो। जर्ज मेलोरीको जुत्ता आज संग्रहालयको वस्तु हुन सक्छ, तर त्यसमा टाँसिएको पसिना, सियोको धागो, र नेपाली हातहरूको स्पर्श अझै इतिहासले पूर्ण रूपमा लेख्न बाँकी छ।
सायद भविष्यका अनुसन्धानले शमसेर पुन र मानबहादुरको वास्तविक कथा अझ स्पष्ट बनाउनेछ। सायद कुनै दिन इर्भाइनको शव पनि भेटिनेछ। सायद त्यस दिन संसारले बुझ्नेछ । सगरमाथाको पहिलो कथा केवल बेलायती साहसको होइन, नेपाली श्रम र बलिदानको पनि थियो।







