April 19, 2026, Sunday
२०८३ बैशाख ६
Nepal 1:37:26 pm
Trending

नेपाली कांग्रेस १४ औं महाधिवेशनका पदाधिकारीसँग देउवा समूहका पूर्णबहादुरले छलफल गर्दै

260

कल्की संवाददाता
२०८३ बैशाख ६

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले आज आइतबार १४ औं महाधिवेशनमा निर्वाचित पदाधिकारीसँग छलफल गर्दैछ । शनिबार काठमाडौं उपलब्ध शीर्ष नेताहरूसँग छलफल गरेको यो समूहले आइतबार उपत्यकामा उपलब्ध १४ औं महाधिवेशनमा निर्वाचित पदाधिकारी र पूर्व केन्द्रीय सदस्यसँग छलफल गर्न लागेको हो ।

छलफलको अगुवाइ पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् । शनिबारको छलफल उनकै निवासमा भएको थियो ।आइतबार भने धुम्बाराहीस्थित स्मार्ट होटलमा दिउँसो १२ बजेका लागि छलफल तय भएको खड्काको सचिवालयले जनाएको छ । शनिबारको छलफलमा यो समूहले अदालतको फैसला मानेर अघि बढ्ने र पार्टीभित्रको राजनीतिक लडाइँ जारी राख्ने निष्कर्ष निकालेको छ ।

‘फैसलामा असन्तुष्टिका पर्याप्त आधार हुँदाहुँदै पनि, फैसलाले आधार मानेका विभिन्न विषयहरू विरोधाभासपूर्ण र विवादास्पद हुँदा हुँदै पनि त्यो फैसलालाई स्वीकार गर्ने कुरा आज छलफल भएको छ’, छलफलपछि नेता मीन विश्वकर्माले भनेका थिए, ‘हिजोदेखि उहाँ (पूर्णबहादुर खड्का) निवर्तमान कार्यवाहक सभापति हुनुभयो । त्यसलाई हामीले स्वीकार गरेका छौं । अब कानूनी विषय टुंगियो । वैधानिकताको विषय टुंगियो । तर अब राजनीतिक विषय भनेको पार्टी एकताको विषय हो । त्यसैले पार्टी एकताका विषयमा निरन्तर चिन्ता भइराखेको छ । अदालतको फैसला मानेर अघि बढ्छौं ।’

विश्वकर्माले अब पार्टीलाई मिलाएर लैजाने सम्पूर्ण जिम्मेवारी सभापति गगन थापाको काँधमा रहेको बताएका छन् । खड्काको निवासमा बसेको देउवा पक्षीय नेताहरूको शनिबारको अनौपचारिक बैठकले अदालतको निर्णयलाई सम्मान गर्दै आगामी दिनमा पार्टी एकताका लागि अघि बढ्ने निर्णय गरेको छ । बैठकपछि नेता  विश्वकर्माले पार्टीभित्रको कानूनी लडाइँ अब समाप्त भएको र राजनीतिक सहमतिको अध्याय शुरू भएको बताए ।

बैठकले अब पार्टीलाई भावनात्मक रूपमा जोड्नका लागि निरन्तर संवाद गर्ने निष्कर्ष निकालेको छ । नेता विश्वकर्माका अनुसार देउवा पक्ष अब पार्टीलाई ठूलो र बलियो बनाउनका लागि नयाँ नेतृत्वसँग सहकार्य गर्न तयार छ । उनले भने, ‘हामी अब निरन्तर छलफलमा बस्छौँ । देशभरका साथीहरूको सुझाव सुन्छौँ । पार्टी फुटेर होइन, जुटेरै चुनावमा जानुपर्छ भन्नेमा हामी प्रष्ट छौँ ।’