April 19, 2026, Sunday
२०८३ बैशाख ६
Nepal 1:37:26 pm
Trending

बङ्गलादेशमा हिन्दु युवकको हत्यालाई, नेपाल मुस्लिम समाज सङ्घ पर्साद्वारा कडा निन्दा

1K

कल्की संवाददाता
२०८२ पुष ७

बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दु समुदायका एक युवकको निर्मम हत्या भएको घटनाप्रति नेपाल मुस्लिम समाज संघ पर्साले कडा आपत्ति र निन्दा व्यक्त गरेको छ। संघका अध्यक्ष दाबी गर्ने महबुब अलि (शेरु) ले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा उक्त अमानवीय घटनाले गहिरो पीडा र चिन्ता उत्पन्न गराएको उल्लेख गर्दै पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।

विज्ञप्तिमा बङ्गलादेशको म्यामेन्सिंह जिल्लामा ईश–निन्दाको आरोपमा २७ वर्षीय हिन्दु युवक दीपू चन्द्र दासलाई भीडले कुटपिट गरी हत्या गरिएको घटनालाई मानवता, सहअस्तित्व र धार्मिक सहिष्णुतामाथिको गम्भीर प्रहारका रूपमा वर्णन गरिएको छ। यस किसिमका घृणाजन्य तथा हिंसात्मक गतिविधि कुनै पनि सभ्य समाजका लागि अस्वीकार्य रहेको संघको ठहर छ।

नेपाल मुस्लिम समाज संघले धर्म, जाति वा समुदायको आधारमा हुने कुनै पनि प्रकारको हिंसाको स्पष्ट रूपमा विरोध गर्दै विश्वभर बहुसङ्ख्यक र अल्पसङ्ख्यक समुदायबीच भाइचारा, माया र पारस्परिक सम्मान कायम हुनुपर्नेमा जोड दिएको छ। नेपाललाई सधैँ धार्मिक सहिष्णुता र सामाजिक एकताको उदाहरणका रूपमा प्रस्तुत गर्दै छिमेकी देशमा अल्पसङ्ख्यकमाथि भइरहेको हिंसाप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ।

संघले नेपाल सरकारसँग पनि औपचारिक रूपमा उक्त घटनाप्रति निन्दा र चिन्ता व्यक्त गर्न माग गरेको छ। साथै, नेपालभित्र धार्मिक तथा अल्पसङ्ख्यक समुदायको सुरक्षा सुनिश्चित गर्न, धार्मिक सद्भाव बिगार्ने गतिविधिमाथि निगरानी बढाउन र अन्तरधार्मिक सहअस्तित्वको सन्देश प्रवाह गर्न स्थानीय तहमा समन्वय गर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा नेपालका मुस्लिम समुदायबाट धार्मिक सद्भाव, सहिष्णुता र शान्तिको सन्देश प्रवाह भइरहेको उल्लेख गर्दै यस्तो घटनाविरुद्ध आवाज उठाउनु सामाजिक सद्भाव कायम राख्न सकारात्मक कदम भएको जनाइएको छ। संघले भविष्यमा पनि मानवता, शान्ति र आपसी सम्मानको पक्षमा दृढ रूपमा उभिने प्रतिबद्धता व्यक्त गरेको छ।