April 19, 2026, Sunday
२०८३ बैशाख ६
Nepal 1:37:26 pm
Trending

५६ हजार पाकिस्तानी भिखारी साउदी अरब र यूएईबाट देश निकाला

940

कल्की संवाददाता
२०८२ पुष ४

साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) ले संगठित भिख माग्ने गिरोह र आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पाकिस्तानी नागरिकमाथि अनुसन्धान र कारबाही तीव्र पारेका छन्। यी कारबाहीका क्रममा हजारौँ पाकिस्तानी नागरिकलाई देश निकाला (डिपोर्ट) गरिएको छ।

पाकिस्तानी अधिकारीहरूका अनुसार साउदी अरबले मात्रै हालसम्म करिब ५६ हजार पाकिस्तानी नागरिकलाई स्वदेश फर्काइसकेको छ। संगठित भिख माग्ने गिरोह र विदेशमा बढ्दो आपराधिक गतिविधिका कारण अन्तर्राष्ट्रिय स्तरमा पाकिस्तानको प्रतिष्ठामा गम्भीर असर परेको उनीहरूको स्वीकारोक्ति छ।

तथ्यांकअनुसार, यस वर्ष मात्रै साउदी अरबले २४ हजार, दुबईले ६ हजार र अजरबैजानले २ हजार ५ सय पाकिस्तानी भिखारीलाई स्वदेश फर्काएको छ।

यसैबीच, यूएईले अधिकांश पाकिस्तानी नागरिकका लागि भिसा प्रतिबन्ध कडा बनाएको छ। त्यहाँ पुगेपछि धेरै व्यक्तिहरू अपराधजन्य गतिविधिमा संलग्न भेटिएकाले यस्तो कदम चालिएको बताइएको छ।

पाकिस्तानी अनुसन्धान एजेन्सी फेडरल इन्भेस्टिगेशन एजेन्सी (एफआईए) का अनुसार, यो संगठित गिरोह खाडी मुलुकहरूमा मात्र सीमित छैन। अफ्रिका, युरोप, कम्बोडिया, थाइल्यान्डलगायत देशमा पर्यटक भिसाको दुरुपयोग गर्दै अवैध गतिविधि भइरहेको पाइएको छ।

यस समस्यालाई नियन्त्रण गर्न पाकिस्तान सरकारले पनि घरेलुस्तरमा कडाइ बढाएको छ। एफआईएका महानिर्देशक रफत मुख्तारका अनुसार, सन् २०२५ मा हालसम्म ६६ हजार १५४ यात्रुलाई पाकिस्तानी विमानस्थलबाटै विमान चढ्न नदिई रोकिएको छ। ती यात्रुहरूलाई भिख माग्ने वा अन्य अवैध गतिविधिका लागि विदेश जान सक्ने आशंकामा रोकिएको बताइएको छ।

खाडी देशहरूसँगको सम्बन्ध थप बिग्रन नदिन र भिसा नीतिमा थप कडाइ नआओस् भन्ने उद्देश्यले पाकिस्तानी प्रशासनले संगठित भिख माग्ने गिरोह र अवैध आप्रवासनलाई पूर्णरूपमा उन्मूलन गर्ने प्रयास तीव्र पारेको जनाएको छ।