कल्की संवाददाता काठमाडौँ —नेकपा र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण हुने भएको छ । सोमबार नेकपाका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष र रञ्जिता श्रेष्ठबीच पार्टी एकतासम्बन्धी सहमति भएको हो ।
सहमतिअनुसार दुई पार्टी एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिह्न तारा नै रहने छ । दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू स्वतः नेपाली कम्युनिस्ट पार्टीको सदस्य हुने पनि सहमतिमा उल्लेख छ ।
त्यस्तै टीकापुर घटनाका सम्बन्धमा कुनै पनि व्यक्तिलाई प्रतिशोधका आधारमा लगाइएका झुट्टा मुद्दाको खारेजी र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने पनि सहमतिको बुँदामा उल्लेख छ ।
यसअघि श्रीमान् रेशम चौधरी रहेको नाउपा नेपालसँग एकता गर्ने भने पनि रञ्जिता नेतृत्वको नाउपा नेकपासँगको एकीकरण प्रक्रियामा जाने भएको हो । करिब ४ महिनाअघि पार्टीबाट अलग भएका रेशमले कात्तिक २ गते कबिर सोबको नेतृत्वमा नाउपा नेपाल गठन गरेका थिए । रेशम र रञ्जिताले पुस १२ गतेका लागि पार्टी एकीकरणको समयसमेत तोकेका थिए ।








