कल्की संवाददाता काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक भ्रमणका लागि गएराति मित्रराष्ट्र जापानतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्का सदस्यहरू, सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ सरकारी अधिकारी तथा नेपालका लागि जापानी राजदूतलगायतले राष्ट्रपति पौडेललाई बिदाइ गरेका थिए ।
राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी सविता पौडेल, नेपाल सरकारका उच्च अधिकारीहरू तथा राष्ट्रपति कार्यालयका पदाधिकारीहरू सहभागी छन् । राष्ट्रपति पौडेल माघ २१ गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल जापान प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणकै क्रममा आजै नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा जापान सरकारद्वारा आयोजना गरिने विशेष स्वागत समारोहमा उनी सहभागी हुनेछन् ।







