April 24, 2026, Friday
२०८३ बैशाख १२
Nepal 1:37:26 pm
Trending

बीएनपी की अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खालिदा जिया अस्पतालमा, अवस्था गम्भीर

805

कल्की संवाददाता
२०८२ पुष १३

बङ्गलादेश । बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) की अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। उनको अवस्था नाजुक रहेको जानकारी बीबीसी बंगलालाई बीएनपीका स्थायी समिति सदस्य तथा उनको उपचारमा संलग्न मेडिकल टोलीका सदस्य एजेडएम जाहिद हुसेनले दिएका हुन्।

शनिबार राति ११:३० बजे ढाकास्थित अस्पताल अगाडि आयोजित पत्रकार सम्मेलनमा जाहिद हुसेनले खालिदा जियाको स्वास्थ्यमा जटिलता बढेको र उनलाई नजिकबाट निगरानीमा राखिएको बताए। उनका अनुसार चिकित्सकहरूको टोली निरन्तर उपचारमा जुटिरहेको छ र आवश्यक सबै चिकित्सकीय प्रयासहरू भइरहेको छ।

बीएनपीका कार्यवाहक अध्यक्ष तथा खालिदा जियाका छोरा तारिक रहमानले आमाको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देशवासीहरूलाई उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रार्थना गर्न आग्रह गरेका छन्। पार्टीको मिडिया सेलले आइतबार बिहान ६:३० बजे सार्वजनिक गरेको विज्ञप्तिमा पनि जाहिद हुसेनको भनाइ उद्धृत गर्दै खालिदा जियाको अवस्था संवेदनशील रहेको उल्लेख गरिएको छ।

यसअघि शनिबार राति करिब ९:३० बजेपछि तारिक रहमान र उनकी पत्नी जुबैदा रहमान खालिदा जियालाई भेट्न अस्पताल पुगेका थिए। उनीहरू करिब दुई घण्टासम्म अस्पतालमै बसेर चिकित्सकहरूसँग उपचार अवस्थाबारे जानकारी लिएका थिए। पारिवारिक भेटपछि पनि खालिदा जियाको स्वास्थ्यमा उल्लेखनीय सुधार नदेखिएको जनाइएको छ।

खालिदा जिया लामो समयदेखि विभिन्न दीर्घ रोगबाट पीडित रहँदै आएकी छन्। विगत केही वर्षयता उनी बारम्बार अस्पताल भर्ना हुँदै उपचार गराइरहेकी छन्। उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि बंगलादेशको राजनीतिक वृत्तमा समेत चिन्ता बढेको छ।

बीएनपी नेताहरूले खालिदा जियाको उपचारका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउन सरकार र सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन्। यसैबीच, उनका समर्थकहरू र पार्टी कार्यकर्ताहरू अस्पताल बाहिर भेला भई प्रार्थना र शुभेच्छा व्यक्त गरिरहेका छन्।

खालिदा जियाको स्वास्थ्य अवस्थाबारे थप जानकारी चिकित्सकहरूको आधिकारिक मेडिकल बुलेटिनमार्फत सार्वजनिक गरिने बीएनपीले जनाएको छ।