October 13, 2026, Tuesday
२०८३ आश्विन २७
Nepal 1:37:26 pm
Trending

कांग्रेस नेत्री खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतलको आदेश

165

कल्की संवाददाता
२०८३ आश्विन २६

काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।

सोमबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले खड्कालाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

केन्द्रीय अनुसन्धान ब्युरोले असोज २३ गते इसराइलको केयरगिभरको रूपमा पठाउने भन्दै ठगी भएको घटनामा खड्कालाई पक्राउ गरेको थियो।

त्यस कसुरमा म्याद थप गर्न अदालतमा पेस गर्दा म्याद नदिएको हो।

‘खड्काको सम्बन्धमा विचार गरी हेर्दा पक्राउ परेका अन्य सहप्रतिवादीको बयानमा उनलाई पोल गरेको अवस्था पनि रहेको नदेखिएको तथा अन्य पीडितहरूको तर्फबाट पेस भएको जाहेरी दरखास्त व्यहोरामा खड्काले जाहेरवालाबाट रकम लिए खाएको तथा कसुरमा संलग्नता देखिने कुनै पनि तथ्य उल्लेख गरेको अवस्था पनि नदेखिएकोले उनलाई थुनामै राखी अनुसन्धान हुनुपर्नेसम्मको अवस्था नदेखिँदा खड्कालाई थुनामा नराखी अनुसन्धान हुनुपर्ने देखिएको,’ आदेशमा भनिएको छ।

उनीमाथि ठगी, आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढाएको थियो।

प्रहरीले यही प्रकरणमा यसअघि भरत चौलागाईंसहित चार जनालाई पक्राउ गरेको थियो। रामेछापका जिल्ला नेता चौलागाईं पहिले कांग्रेस महाधिवेशन प्रतिनिधि पनि थिए।

चौलागाईंसहितले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग चिनजान रहेको भन्दै १५६ जनाबाट दुई करोड ५० लाख रूपैयाँभन्दा बढी ठगी गरेको आरोपमा जाहेरी परेको थियो।

नेपाल सरकार र इसराइल सरकारबीच जिटुजी प्रक्रियाअन्तर्गत केयरगिभरका लागि सन् २०२४ मा परीक्षा भएको थियो। त्यसमा तीन हजार ४६१ जना परीक्षार्थी उत्तीर्ण भएका थिए। उनीहरू होल्डमा थिए।

त्यसमध्ये १५६ जनालाई मन्त्रिपरिषदबाटै निर्णय गराएर इसराइल पठाइदिने झुटो आश्वासन दिई उनीहरूले पैसा उठाएको आरोप छ।