October 13, 2026, Tuesday
२०८३ आश्विन २८
Nepal 1:37:26 pm
Trending

रूसी ऊर्जा पूर्वाधारमा आक्रमण गरे युक्रेनलाई अमेरिकी हतियार आपूर्ति रोक्ने ट्रम्पको चेतावनी

300

कल्की संवाददाता
२०८३ आश्विन २६

काठमाडौँ । अमेरिकाले रूसको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न दबाब दिने उद्देश्यले युक्रेनलाई अमेरिकी हतियार उपलब्ध गराउने संयन्त्र बन्द गर्ने चेतावनी दिएको छ।

युरोपेली अधिकारीहरूका अनुसार अमेरिकी सरकारले युक्रेनलाई हतियार खरिदमा सहयोग गर्ने संयन्त्र ‘प्रायोरिटाइज्ड युक्रेन रिक्वायरमेन्ट्स लिस्ट’ (पर्ल) रोक्ने र गुप्तचर सूचना आदानप्रदान बन्द गर्ने चेतावनी समेत दिएको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।

अमेरिकी अधिकारीहरूले शनिबार र आइतबार युरोपेली देशहरू तथा युक्रेनी अधिकारीहरूलाई फोन गरेर रूसी तेल प्रशोधन केन्द्र माथिका आक्रमण रोक्न दबाब दिएको उनीहरूले बताएका छन्।

अमेरिकी रक्षा अधिकारीबाट फोन आएको एक युरोपेली अधिकारीले भने, ‘उनीहरू किएभलाई फोन गरिरहेका छन्… युरोपका सबैलाई फोन गरिरहेका छन्।’

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले भने ती फोनबारे पुष्टि गर्न वा टिप्पणी गरेको छैन।

अमेरिकी अधिकारीहरूले सम्पर्क गरेका व्यक्तिमध्ये युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सैन्य सल्लाहकार तथा देशको ९३ औँ मेकनाइज्ड ब्रिगेडका पूर्वकमाण्डर पाभ्लो पालिसा पनि रहेको बताइएको छ।

पर्ल नेटोको व्यवस्थापनमा सञ्चालित संयन्त्र हो। यस अन्तर्गत युक्रेनका सहयोगी देशहरूले अमेरिकामा निर्मित हतियार खरिद गरेर युक्रेनलाई उपलब्ध गराउँछन्। उक्त संयन्त्रमा अमेरिकाले प्रत्यक्ष आर्थिक योगदान गर्दैन।

युक्रेनमाथि दबाब बढाइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत रूस र युक्रेनबीच एकअर्काको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने सहमति भएको घोषणा गरेका थिए।

‘तत्काल लागू हुने गरी रूस–युक्रेन युद्धमा ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्ने युद्धविराम लागू भएको छ। दुवै पक्ष सहमत भएका छन्। यसलाई उल्लंघन नगर्नू,’ उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका थिए।

तर रूस र युक्रेन दुवैले त्यस्तो सहमति भएको पुष्टि गरेका छैनन्।

युरोपेली संघ (इयू) की विदेश नीति प्रमुख काया कलासले सोमबार ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्ने घोषणाको स्वागत गरिन्। तर उनले अहिलेसम्म त्यसको प्रभावकारी कार्यान्वयन देख्न नपाइएको बताइन्।

ट्रम्पको घोषणा सार्वजनिक भएको केही समयपछि जेलेन्स्की निकट एक वरिष्ठ युक्रेनी अधिकारीले फाइनान्सियल टाइम्स लाई किभमा रूसी आक्रमणपछि बिजुली र पानीको आपूर्ति पुनःस्थापना गर्न मर्मत टोली खटिरहेको बताएका थिए। उनका अनुसार, त्यसबेला युक्रेनी अधिकारीहरूले युद्धविरामबारे कुनै जानकारी पाएका थिएनन्।

जेलेन्स्कीले पनि आइतबार साँझ ट्रम्पको घोषणालाई स्वागत गर्दै त्यसलाई व्यवहारमा उतार्नु महत्त्वपूर्ण हुने बताएका थिए।

‘यो सबैका लागि राम्रो खबर हो। तर, यो वास्तविकतामा परिणत हुनु महत्त्वपूर्ण छ,’ उनले भने।

यद्यपि उनले रूसले आक्रमण जारी राखेको आरोप लगाए।

उनका अनुसार युक्रेनी आकाशमा दिनभर रूसी शाहेद ड्रोन उडिरहेका थिए। रूसी सेनाले ग्लाइड बमबाट आक्रमण गर्नुका साथै ऊर्जा पूर्वाधारलाई पनि निशाना बनाएको थियो।

खार्किभस्थित एउटा विद्युत् केन्द्रमा आइतबार साँझ आक्रमण भएको पनि उनले बताए।

‘युक्रेनले तनाव कम गर्न धेरै प्रस्ताव गरेको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सबै प्रस्ताव प्रतिको एउटै जबाफ थियो। ‘न्येत’ अर्थात् ‘हुँदैन’,’ जेलेन्स्कीले भने।

उनले पुटिनले अन्ततः अमेरिका, युक्रेन र विश्वलाई वास्तविक तथा सम्मानजनक शान्तितर्फ लैजाने निर्णय गर्ने आशा व्यक्त गरे।

ट्रम्पले घोषणा गरेको सहमति पालना गर्न पनि उनले रूसी राष्ट्रपतिलाई आग्रह गरे।

युद्धविरामका लागि रूसमाथि दबाब दिन इयूको आग्रह

युक्रेनलाई अमेरिकी हतियार आपूर्ति रोक्ने चेतावनीसँगै ट्रम्प सरकारले जेलेन्स्कीलाई निर्वाचन गराउन पनि दबाब दिएको छ।

ट्रम्पले सप्ताहान्तमा जेलेन्स्कीको स्थानमा नयाँ नेतृत्व चयन गर्न युक्रेनमा निर्वाचन हुनुपर्ने माग गरेका थिए। त्यसको जबाफमा जेलेन्स्कीले रूसले पूर्ण युद्धविराम स्वीकार गरेमा ६० दिनभित्र निर्वाचन गराउन सकिने प्रस्ताव गरेका छन्।

तर जेलेन्स्कीको प्रस्ताव स्वीकार गर्न ट्रम्प तयार छन् कि छैनन् भन्नेबारे ह्वाइट हाउसले स्पष्ट पारेको छैन।

इयूकी विदेश नीति प्रमुख कलासले भने युद्ध अन्त्य गराउन अमेरिकाले युक्रेनलाई निर्वाचनका लागि दबाब दिनुको सट्टा रूसमाथि प्रतिबन्धमार्फत् दबाब बढाउनुपर्ने बताएकी छन्।

‘यदि रूसमाथि युद्ध रोक्न दबाब दिइयो भने उसले निर्वाचन हुन दिनेमा मलाई विश्वास छ,’ उनले भनिन्।

रूसको ऊर्जा पूर्वाधारमाथि युक्रेनले गर्ने आक्रमण रोक्न अमेरिकाले हतियार आपूर्ति र गुप्तचर सहयोगलाई दबाबको माध्यम बनाएको घटनाले युक्रेन युद्धमा अमेरिका, युक्रेन र युरोपेली सहयोगी बीचको रणनीतिक मतभेद थप स्पष्ट पारेको छ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)