April 21, 2026, Tuesday
२०८३ बैशाख ९
Nepal 1:37:26 pm
Trending

इरानका सर्वोच्च नेताका छोराको लण्डनदेखि दुबईसम्म आलिसान महल

715

कल्की संवाददाता
२०८२ माघ १६

काठमाडौँ। इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीका दोस्रो छोरा तथा सम्भावित उत्तराधिकारी मोज्तबा खामेनीको विदेशमा अर्बौँ डलरको शंकास्पद सम्पत्ति रहेको खुलासा भएको छ। ५६ वर्षीय धर्मगुरु मोज्तबाको लण्डनदेखि जर्मनी, फ्रान्कफर्ट र दुबईसम्म फैलिएको विशाल सम्पत्ति सञ्जाल रहेको विभिन्न रिपोर्टहरूले देखाएका छन्।
ब्लुमबर्ग र विभिन्न पश्चिमा गुप्तचर निकायहरूको मूल्याङ्कनअनुसार, मोज्तबाले गुप्त कम्पनीहरूको सञ्जालमार्फत बेलायत, जर्मनी, स्विट्जरल्याण्ड र संयुक्त अरब इमिरेट्स (यूएई) मा ठूलो लगानी गरेका छन्। लण्डनको प्रसिद्ध ‘बिशप्स एभिन्यू’, जसलाई ‘बिलेनियर्स रो’ (अर्बपतिहरूको गल्ली) भनिन्छ, त्यहाँ मात्रै उनको १३८ मिलियन डलरभन्दा बढीको आलिसान घरहरू रहेको बताइएको छ।

यसबाहेक दुबईको महँगो क्षेत्रमा भिल्ला र फ्रान्कफर्टदेखि मलोर्कासम्म लक्जरी होटलहरूको चेनमा समेत उनको लगानी रहेको पाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छन् । रिपोर्टका अनुसार यी सम्पत्तिहरू सिधै मोज्तबाको नाममा नभई इरानी व्यवसायी अली अन्सारीको नाममा राखिएका छन्। सन् २०१९ मा अमेरिकाले इरानमाथि कडा प्रतिबन्ध लगाए पनि मोज्तबाले इरानी तेल बिक्रीबाट प्राप्त रकम स्विट्जरल्याण्ड र लिकटेन्स्टाइनका बैंक खाताहरूमार्फत पश्चिमा बजारमा पुर्‍याएर लगानी गर्न सफल भएको दाबी गरिएको छ। उनको यो गुप्त कारोबार सन् २०११ देखि नै सक्रिय रहेको बताइएको छ। अयातुल्ला अली खामेनीपछिको शक्तिशाली व्यक्तिका रूपमा हेरिएका मोज्तबाको यो अथाह सम्पत्ति र वैदेशिक लगानीको खुलासाले अन्तर्राष्ट्रिय क्षेत्रमा नयाँ तरंग पैदा गरेको छ। व्यवसायी अली अन्सारीलाई भने बेलायतले गत अक्टोबरमा प्रतिबन्ध लगाइसकेको थियो ।