April 21, 2026, Tuesday
२०८३ बैशाख ८
Nepal 1:37:26 pm
Trending

प्रधानमन्त्रीलाई गृहमन्त्री गुरुङको लिखित स्पष्टीकरण

285

कल्की संवाददाता
२०८३ बैशाख ८

काठमाडौँ : सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानमा तानिएका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको विवरण सार्वजनिक भएपछि गृहमन्त्री सुधन गुरुङसँग प्रधानमन्त्री बालेन शाहले स्पष्टीकरण लिएका छन्।

प्रधानमन्त्री बालेन शाहको सचिवालयका अनुसार गृहमन्त्री गुरूङसँग प्रधानमन्त्री शाहले स्पष्टीकरण लिएका छन्। सचिवालयका अनुसार गृहमन्त्री गुरूङले सोमबार साँझ ६ बजे लिखित स्पष्टीकरण बुझाएका हुन्। गृहमन्त्रीको सचिवालयले पनि प्रधानमन्त्रीलाई लिखित स्पष्टीकरण दिएको पुष्टी गरेको छ ।

गृहमन्त्री गुरूङको अनुसन्धानको दायरामा रहेका भट्ट र शंकर समूहको लगानी रहेको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा लगानी रहेको कागजातसमेत सार्वजनिक भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा गुरुङले होप होल्डिङ्स प्रालिमा ३० हजार थान सेयरको ३० लाख र लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५७ हजार थान सेयरको ५७ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको उल्लेख गरेका थिए । त्यस्तै एड्भेन्चर भिल्ला प्रालिका नाममा ७० लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको उल्लेख थियो । २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको (धितोपत्र बजारमा कारोबार हुने) सेयर रहेको पनि विवरणमा उल्लेख छ ।

गत २९ चैतमा सार्वजनिक भएको मन्त्री गुरुङको सम्पत्ति विवरणमा स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा भएको लगानी खुलाइएको छैन । गुरुङले जेन–जी आन्दोलनपछि र मन्त्री बन्नुअघि पनि धितोपत्रको दोस्रो बजारबाट पनि सेयर खरिद गरेको विवरण पनि सार्वजनिक भएको छ । त्यसबारे पनि गुरुङको सम्पत्ति विवरणमा उल्लेख छैन ।