कल्की संवाददाता काठमाडौँ – कडा सुरक्षा प्रतिबन्धका बीच पाकिस्तानी कस्मिरमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई जना कर्णेल र एक मेजरसहित २२ जना सैनिक अधिकारीको दुखद निधन भएको छ। प्राविधिक खराबीका कारण हेलिकप्टर खसेको र सेनाले यसको उच्चस्तरीय छानबिन सुरु गरेको बताएको छ।

सुरक्षा स्रोतका अनुसार ज्यान गुमाउनेहरूमा १९ जना सैनिक, एक मेजर र दुई जना कर्णेल रहेका छन्। दुर्घटनापछि कस्मिरको राजधानी मुजफ्फरवादमा मृतक सैनिकहरूको सम्मानमा शवयात्रासहित औपरचारिक अन्त्येष्टि गरिएको छ।

पाकिस्तानी सेनाले दिएको जानकारी अनुसार एमआई–१७ (Mi-17) मोडलको उक्त हेलिकप्टर प्राविधिक खराबीका कारण दुर्घटनाग्रस्त भएको हो र त्यसमा सवार सबैको मृत्यु भएको छ। दुर्घटनाको वास्तविक प्राविधिक कारण पत्ता लगाउन उच्चस्तरीय छानबिनको आदेश दिइएको छ। दुर्घटनास्थलबाट निस्किएको बाक्लो कालो धुवाँको मुस्लो भवनहरू पछाडिबाट आकाशतर्फ फैलिरहेको भिडियोहरू सार्वजनिक भएका छन्। हालै प्रतिबन्धित एक नागरिक समाज गठबन्धनका समर्थक र सुरक्षा बलबीच आइतबार भएको हिंसक झडपमा परि कम्तीमा ११ जनाको मृत्यु भएपछि उक्त क्षेत्रमा कडा सुरक्षा प्रतिबन्ध लगाइएकै समयमा यो दर्दनाक हवाई दुर्घटना भएको हो। मृतक सैनिकहरूको कफिनलाई पाकिस्तानी झण्डामा बेरेर सेनाको आर्टीलेरी इकाईले सलामीसहित अन्तिम बिदाइ गरेको छ।







