कल्की संवाददाता काठमाडौं । नेपाली चलचित्र ‘गौथली’ को पहिलो गीत ‘आँखा भरी आँसु’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा निर्माण पक्षले गीत सार्वजनिक गरेको हो ।
४ मिनेट ५९ सेकेन्ड लामो उक्त गीतमा कलाकार सिम्रन खड्का र मदनकृष्ण श्रेष्ठ लगायत अरु कलाकार फिचर छन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्रको कथावस्तु पारिवारिक परिवेशसँग जोडिएको बताउँदै दर्शकले मन पराउने विश्वास व्यक्त गरे ।
उनले भने, ‘यसमा घर–परिवारको कथा जोडिएको छ । फिल्म सफल हुनेमा मलाई विश्वास छ । सबै कलाकारले उत्कृष्ट अभिनय गर्नुभएको छ, सबैको योगदानको वर्णन गरेर साध्य छैन ।’
कार्यक्रममा अभिनेत्री सिम्रन खड्काले ‘गौथली’मा शीर्ष पात्रको भूमिका निर्वाह गर्न पाएको अवसरलाई आफ्नो अभिनय यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा वर्णन गरिन् ।
उनले भनिन्, ‘‘गौथली’ आजभन्दा २५ वर्षअघि निर्माण भएको चलचित्र हो । त्यो समयमा म जन्मिएकी पनि थिइनँ । २५ वर्षपछि पुनः बन्न लागेको यही चलचित्रमा ‘गौथली’ पात्र निभाउने अवसर पाउनु मेरो लागि ठूलो कुरा हो । सम्पूर्ण टिमसँग काम गर्न पाउँदा निकै खुसी लागेको छ ।’
चलचित्र ‘गौथली’ ले साउन १ गतेलाई प्रदर्शन मिति तय गरेको छ । डा.कपिल रिजालले निर्देशन गरेको चलचित्र दुई दशक अगाडी प्रतिष्ठित चिकित्सक डा. भोला रिजालको कथामा निर्माण भएको चलचित्र ‘गौथली’ को नाम सापटी चलचित्र हो । कपिल उनै भोलाका छोरा हुन् । उक्त समयमा यो चलचित्रले ५१ दिन मनाउन सफल भएको थियो ।
चलचित्रमा नायक अरुण क्षेत्री र सिम्रन खड्काको जोडीलाई पर्दामा देख्न पाइनेछ । दुईको साथमा चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
वरिष्ठ चिकित्सक डा. भोला रिजालको कथा रहेको यस चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा.कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् । चलचित्रको ‘गौथली’ को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यतासँग जोडिएको निर्माण पक्षले जनाएको छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।








