April 19, 2026, Sunday
२०८३ बैशाख ६
Nepal 1:37:26 pm
Trending

फेरि पनि उही ‘पुरानै खेलाडी’ चुनावी मैदानमा

865

कल्की संवाददाता
२०८२ माघ ८

विराटनगर । कोशी प्रदेशमा आसन्न निर्वाचनको सरगर्मी बढेको छ । यसपटकको निर्वाचनमा पनि कोशीका विभिन्न निर्वाचन क्षेत्रहरूमा दशकौँदेखि नेपाली राजनीतिमा हालीमुहाली गरिरहेका नेताहरू पनि चुनावी प्रतिस्पर्धामा छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका विजयकुमार गच्छदारसम्मका पुराना अनुहारहरू पटक–पटक दोहोरिँदै चुनावी मैदानमा उत्रिएका हुन् ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५ बाट पुनः चुनावी प्रतिस्पर्धामा छन् । यस पटक उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले कडा टक्कर दिँदैछन् ।

उता, सुनसरी–३ मा नेपाली कांग्रेसले फेरि पनि विजयकुमार गच्छदारलाई नै अघि सारेको छ । २०४८ सालदेखि निरन्तर यसै क्षेत्रबाट चुनाव लड्दै आएका गच्छदारको यो आठौँ चुनावी प्रतिस्पर्धा हो । यस पटक पनि गच्छदारलाई उनै चौधरीले टक्कर दिँदैछिन् ।

सुनसरी क्षेत्र नम्बर ४ मा एमालेले अनुभवी नेता जगदीशप्रसाद कुसियतलाई उम्मेदवार बनाएको छ । उनी पनि आठौँ पटक चुनावी मैदानमा होमिँदैछन् । २०७४ मा प्रदेशसभा सदस्य जितेर मन्त्री बनेका कुसियत २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीसँग झिनो मतान्तरले पराजित भएका थिए । यसपटक उनी सोही पराजयको बदला लिने रणनीतिमा छन् ।

पूर्वमुख्यमन्त्री एवं एमाले सचिव शेरधन राई भोजपुरबाट छैटौँ पटक चुनावी मैदानमा छन् । २०५६ सालमा मुलुककै कान्छो सांसद बनेर चर्चामा आएका राई २०७० मा पुनः निर्वाचित भएर सञ्चार मन्त्री बनेका थिए । उनलाई राजनीतिमा ल्याउने र पार्टी सदस्यता दिने भूमिकामा रहेका अजम्बर काङ्माङ नेपाली कम्युनिष्ट पार्टीबाट प्रतिस्पर्धामा उत्रिएका छन् ।

मोरङ–६ मा यसपटक कडा प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला र २०६५ सालकै उपनिर्वाचनमा एमालेबाट प्रतिस्पर्धा गरेका विनोद ढकाल प्रतिस्पर्धामा उत्रिएका छन् ।

मोरङ क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका नेकपाका नेता शिवकुमार मण्डल २०६३ सालको अन्तरिम संसदका सदस्य पनि हुन् । २०७९ सालको निर्वाचनमा भने स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलसँग पराजित बनेका उनी अहिले फेरि उनैसँग प्रतिस्पर्धा गर्दैछन्।

मोरङ–१ मा एमालेका घनश्याम खतिवडा पुरानै प्रतिस्पर्धी हुन् । संविधानसभा सदस्य समेत रहेका उनी ७९ सालको निर्वाचनमा पराजित बनेका थिए । यस पटक उनी पनि जितको खोजीमा छन् । यस्तै अन्तरिम संसद् हुँदै संविधानसभा सदस्य बनेकी झापा–२ की धर्मशीला चापागाईं पनि चुनावी प्रतिस्पर्धामा छिन् । झापा-३ बाट उम्मेदवार बनेका हरिबहादुर राजवंशी र झापा-४ बाट उम्मेदवार बनेका एलपी साँवा जस्ता पुराना संविधानसभा सदस्यहरू पनि चुनावी प्रतिस्पर्धामा छन् । मोरङ–२ बाट डा. मिनेन्द्र रिजाल, सुनसरी–२ बाट रामकुमारी चौधरी, खोटाङका हरि रोका पनि संविधानसभा सदस्य हुन् ।

सुची :-

झापा २ – धर्मशीला चापागाईं (संविधानसभा सदस्य)
झापा ३ – हरिबहादुर राजवंशी (संविधानसभा सदस्य)
झापा ४ – लालप्रसाद (एलपी) साँवा लिम्बू (संविधानसभा सदस्य)
झापा ५ – केपी शर्मा ओली (०४८ सालयता निरन्तर)
भोजपुर १ – शेरधन राई (०५६ सालयता निरन्तर)
सुनसरी २ – रामकुमारी चौधरी (संविधानसभा सदस्य)
सुनसरी ३ – विजय गच्छदार (०४८ सालयता निरन्तर)
सुनसरी ४ – जगदीशप्रसाद कुसियत (०४८ साययता निरन्तर)
मोरङ १ – घनश्याम खतिवडा (संविधानसभा सदस्य)
मोरङ २ – डा. मिनेन्द्र रिजाल (०६४ संविधानसभा सदस्य)
मोरङ ५ – शिवकुमार मण्डल  (०६३ को अन्तरिम संसद तथा संविधानसभा सदस्य)
मोरङ ६ – डा. शेखर कोइराला (०६५ उपनिर्वाचनबाट जित)
मोरङ ४ – अमनलाल मोदी (०७० सालमा संविधानसभा सदस्य)
खोटाङ १ – हरि रोका (०७० संविधासभा सदस्य)
उदयपुर १ – सुरेशकुमार राई (०७० संविधानसभा सदस्य)