April 22, 2026, Wednesday
२०८३ बैशाख ९
Nepal 1:37:26 pm
Trending

गगनलाई ‘खुशी भएर स्वीकार गरौं, कानुनको व्याख्या धेरै नगरौं’ : सुजता कोइराला

675

कल्की संवाददाता
२०८२ माघ ३

काठमाडौँ। नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाले जनताले चाहना अनुरूप पार्टीमा परिवर्तन आएको बताएकी छन्। शनिबार बिहान फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै कोइरालाले कांग्रेसभित्र आएको परिवर्तनलाई खुशी भएर अंगाल्नुपर्ने बताएकी हुन्।

उनले पार्टी फुटेको जस्तो अनुभव आफूलाई नभएको पनि बताइन्। ‘नयाँ सभापति आउनुभएको छ। अलि छिटो आउनुभयो त्यति मात्रै फरक हो। नयाँ सभापति गगन थापालाई म बधाई दिन चाहन्छु,’ उनले भनिन्। कोइरालाले सभापति थापालाई विपीको विचार र गिरिजाबाबुको संगठनलाई नबिर्सी अगाडि बढ्न समेत आग्रह गरिन्। ‘नेपाली कांग्रेसलाई राम्रो बनाउनुस्। यो देशको उन्नति गर्नुस्। तपाईंलाई सम्पूर्ण जनताले मान्ने छ। तपाईलाई सम्पूर्ण नेपाली कांग्रेसले साथ दिनेछ,’ उनले भनिन्। मुलुकले चाहेको परिवर्तनलाई स्वीकार गर्नुपर्ने पनि उनले बताइन्। नेतृत्व परिवर्तन हुँदैमा उनले पार्टी नफुट्ने उनको आशय थियो।

‘पार्टी को अफिस त्यही हो। चारतारे झण्डा त्यही छ। रुख चिन्ह त्यही छ। मान्छे त्यही हो। यता उता सबै मान्छे त्यही हो। पार्टी कहाँ फुटेको छ?,’ उनले भने। उनले अरू नेताहरूलाई पनि संयम रहन आग्रह गरिन्। ‘किन तपाईं डराएको? फेरि अर्को चुनाव आउँदै छ। अर्को चुनावमा सहभागी हुनुस् र नेपाली कांग्रेसलाई फेरि सभापतिको चुनाव गरेर नयाँ परिवर्तन दिनुस्। फेरि नेपाली कांग्रेसबाट चुनाव गराउनुस्। नेपाली कांग्रेसलाई जिताएर ल्याउनुस्। पार्टी फुटेको छैन। नआत्तिनुस्, नतर्सिनुस्, दिक्क नमान्नुस्। खुशी भएर यसलाई स्वीकार्नुस्। कानुनको व्याख्या धेरै नगर्नुस्,’ उनले भनिन्।