April 22, 2026, Wednesday
२०८३ बैशाख ९
Nepal 1:37:26 pm
Trending

किन हुन्छ हार्टअट्याक ?

585

कल्की संवाददाता
२०८२ माघ २८

काठमाडौँ । हामी शारीरिक रूपमा फिट रहेको, नियमित व्यायाम गरिरहेको, सन्तुलित आहार लिइरहेको र न उच्च रक्तचाप छ, न मधुमेह केही नभएको व्यक्तिलाई हार्टअट्याकको जोखिम हुँदैन भन्ने मान्यता राख्छौँ । तर वास्तविकता यसभन्दा धेरै जटिल छ । बाहिरबाट पूर्ण रूपमा स्वस्थ देखिने व्यक्तिलाई पनि हार्टअट्याक हुन सक्छ । यस्ता धेरै घटनाहरू देखिएका छन् ।

स्वस्थ हुँदाहुँदै पनि किन हुन्छ हार्टअट्याक ?
मुटुको स्वास्थ्य केवल जीवनशैलीमा मात्र निर्भर हुँदैन । केही जोखिम कारक  हुन्छन् । जुन हाम्रो नजरबाट लुकेका हुन्छन् । सबैभन्दा महत्वपूर्ण कारक जेनेटिक्स अर्थात् पारिवारिक इतिहास हो । आमाबुवा वा नजिकका आफन्तलाई कम उमेरमै मुटु सम्बन्धी रोग भएको थियो भने भए पनि जोखिम बढ्न सक्छ ।

यसका अतिरिक्त उमेर पनि एक प्रमुख कारक हो । ४० वर्षपछि हार्टअट्याकको जोखिम क्रमशः बढ्दै जान्छ । पुरुषहरूमा यो जोखिम छिट्टै देखिन्छ भने महिलाहरूमा रजोनिवृत्तिपछि जोखिम बढ्ने सम्भावना हुन्छ । केही सूजनसम्बन्धी रोगहरू, जस्तै सोरायसिस वा रुमेटोइड आर्थराइटिसले पनि मुटुको धमनीमा असर पुर्‍याउन सक्छन् । यसले धमनीभित्र प्लाक जम्ने प्रक्रिया बढाएर हार्टअट्याकको जोखिम बढाउँछ, व्यक्ति फिट भए पनि ।

के–के हुन् जोखिमका कारक ?
व्यायाम गरिरहनु भएको भए पनि उच्च कोलेस्ट्रोल वा उच्च रक्तचाप हुन सक्छ, जुन धेरैजसो अवस्थामा लक्षणविहीन हुन्छ । त्यसैले २० वर्ष उमेरपछि प्रत्येक ४–६ वर्षमा कोलेस्ट्रोल प्रोफाइल जाँच गराउनु आवश्यक मानिन्छ । तनाव पनि एउटा ठूलो तर प्रायः बेवास्ता गरिने कारण हो । लामो समयसम्म रहने तनावले रक्तचाप र कोलेस्ट्रोल दुवै बढाउन सक्छ, जसले हार्टअट्याकको जोखिम बढाउँछ ।

संकेत के–के हुन् ?

  • जब कुनै फिट वा युवा व्यक्तिलाई हार्टअट्याक हुन्छ, धेरैले “अचानक भयो” भन्ने गर्छन् । तर प्रायः यसको संकेतहरू पहिल्यै देखिइरहेका हुन्छन् ।
  • छातीमा दबाब, कसावट वा हल्का दुखाइ
  • जबडा, घाँटी, काँध वा ढाडमा दुखाइ
  • अचानक सास फेर्न गाह्रो हुनु
  • व्यायाम गर्दा टाउको हल्का हुनु वा बेहोसजस्तो महसुस हुनु
  • महिलाहरूमा अत्यधिक थकान, हल्का छाती असहजता वा सासको कमी

बच्ने उपाय 

  • नियमित स्वास्थ्य परीक्षण गराउनुहोस्— रक्तचाप, रगतमा चिनी र कोलेस्ट्रोल जाँच अनिवार्य छ ।
  • परिवारको स्वास्थ्य इतिहासबारे जानकारी राख्नुहोस् र चिकित्सकसँग खुला रूपमा परामर्श गर्नुहोस् ।
  • तनाव व्यवस्थापनमा ध्यान दिनुहोस्— योग, ध्यान वा माइन्डफुलनेस उपयोगी हुन सक्छ ।
  • धूम्रपान वा भेपिङबाट टाढा रहनुहोस् र स्वस्थ आहार अपनाउनुहोस् ।