April 16, 2026, Thursday
२०८३ बैशाख ४
Nepal 1:37:26 pm
Trending

समानुपातिकमा रोइलो नगर्न अध्यक्ष हर्कको चेतावनी

300

कल्की संवाददाता
२०८२ फाल्गुन २९

काठमाडौं । श्रम संस्कृति पार्टीभित्र समानुपातिक सांसद चयनलाई लिएर विवाद चर्किन थालेपछि पार्टीका अध्यक्ष हर्क साम्पाङले कडा चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी पङ्क्तिलाई समानुपातिकको विषयमा अनावश्यक ‘रोइलो’ नगर्न सचेत गराएका हुन्। साम्पाङले आफ्नो स्टाटसमा लेखेका छन्, “अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु! हद भो।”

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत प्राप्त गर्दै राष्ट्रिय पार्टी बन्न आवश्यक थ्रेसहोल्ड पार गरेको छ। सो मतका आधारमा पार्टीले समानुपातिकतर्फ चार सीट सुरक्षित गरेको छ। निर्वाचन आयोगमा श्रम संस्कृतिले ११० जनाको समानुपातिक उम्मेदवार सूची बुझाएको थियो। प्रत्यक्षतर्फ भने पार्टीले तीन सीट जितेको छ, जसमा सबै पुरुष उम्मेदवार विजयी भएका छन्। प्रत्यक्ष र समानुपातिक गरी पार्टीको कुल सांसद संख्या सात पुग्नेछ।

संवैधानिक व्यवस्था अनुसार संसद्मा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने भएकाले श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने अवस्था छ। यस आधारमा कम्तीमा दुई जना महिला समानुपातिक सांसद बन्ने सम्भावना रहेको छ। साथै, अन्य समावेशी क्लस्टरसमेत मिलाउनुपर्ने भएकाले पार्टीभित्र छलफल र विवाद दुवै देखिएको छ। यही विवाद बढ्दै गएपछि अध्यक्ष साम्पाङले सार्वजनिक रूपमा कडा चेतावनी दिएका हुन्।