कल्की संवाददाता रुसले भेनेजुएलामाथि कुनै पनि प्रकारको आक्रमण गर्नु अमेरिकाका लागि ‘घातक गल्ती’ हुने चेतावनी दिएको छ। क्रेमलिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनलाई संयमता अपनाउन आग्रह गर्दै यस्तो कदमले सम्पूर्ण पश्चिमी गोलार्धमा अप्रत्याशित परिणाम ल्याउन सक्ने बताएको छ।
अमेरिकाले यसै हप्ता भेनेजुएलाका प्रतिबन्धित तेल ट्याङ्करहरूलाई नाकाबन्दी गर्ने आदेश दिएपछि वासिङ्टन र भेनेजुएलाबीच तनाव बढेको छ। तर भेनेजुएलाले आफ्नो कच्चा तेल निर्यातमा असर नपरेको दाबी गरेको छ।
रुसले आफू भेनेजुएलाको राजधानी काराकाससँग निरन्तर सम्पर्कमा रहेको र राष्ट्रपति निकोलस मदुरोको सरकारलाई समर्थन जारी राख्ने स्पष्ट पारेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सबै पक्षलाई संयम अपनाउन र वार्तामार्फत तनाव कम गर्न आह्वान गरेका छन्।
रुसी विदेश मन्त्रालयले अमेरिकालाई थप चिप्लिनबाट जोगिन चेतावनी दिँदै भेनेजुएलामा कुनै पनि सैन्य वा आक्रामक कदम नचाल्न आग्रह गरेको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले पनि हालै मदुरोलाई फोन गरी रुसको समर्थन निरन्तर रहने दोहोर्याएका छन्।







