April 20, 2026, Monday
२०८३ बैशाख ७
Nepal 1:37:26 pm
Trending

अमेरिकी नियन्त्रणमा इरानको मालवाहक जहाज , चेतावनी नमानेपछि प्रहार

245

कल्की संवाददाता
२०८३ बैशाख ७

काठमाडौँ । अमेरिकाले इरानी झण्डा बोकेको एउटा मालवाहक जहाज नियन्त्रणमा लिएको छ। खाडी क्षेत्रमा जारी नौसैनिक घेराबन्दीका क्रममा उक्त जहाजलाई नियन्त्रणमा लिइएको अधिकारीहरूले बताएका छन्। चेतावनी दिँदा पनि जहाज नरोकिएपछि नियन्त्रणमा लिइएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत बताएका छन्। यस विषयमा इरानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

करिब ९०० फिट लामो उक्त जहाजले घेराबन्दी तोड्न खोज्दा अमेरिकी नौसेनाले रोक्ने प्रयास गरेको थियो। चेतावनीको बेवास्ता गरेपछि जहाजको इन्जिन कक्षमा प्रहार गरी रोकिएको ट्रम्पले बताएका छन्।उक्त जहाज पहिलेदेखि नै गैरकानुनी गतिविधिका कारण अमेरिकी आर्थिक प्रतिबन्धको सूचीमा रहेको बताइएको छ। अहिले जहाज पूर्ण रूपमा अमेरिकी नियन्त्रणमा छ र त्यसमा रहेका सामग्रीहरूको जाँच भइरहेको छ। अमेरिकी केन्द्रीय सैन्य कमान्ड ले यस घटनासम्बन्धी भिडियो सामग्री पनि सार्वजनिक गरेको छ।

ट्रम्पले इरानसँग सम्झौता नभएसम्म घेराबन्दी जारी रहने बताएका छन्। फेब्रुअरी २८ मा सुरु भएको यो द्वन्द्व पाँच हप्तासम्म चलेको छ, यद्यपि अहिले अस्थायी युद्धविराम लागू छ। मुख्य विवाद इरानको आणविक कार्यक्रम र होर्मुज जलमार्गको नियन्त्रणलाई लिएर चर्किएको हो। इरानले घेराबन्दी हटेपछि मात्र यो मार्ग खोल्ने अडान लिएको छ।

यस मार्गबाट विश्वको ठूलो मात्रामा तेल र ग्यास ढुवानी हुने भएकाले वर्तमान तनावका कारण अन्तर्राष्ट्रिय बजारमा ऊर्जाको मूल्य बढेको छ।ह्वाइट हाउसका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानमा हुने दोस्रो चरणको वार्तामा सहभागी हुन जानेछन्। तर इरानले भने अमेरिकी घेराबन्दी कायम रहेसम्म वार्तामा सहभागी नहुने स्पष्ट पारेको छ।