कल्की संवाददाता इलाम । आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलामस्थित नेकपा (एमाले)ले इलाम क्षेत्र २ बाट सुहाङ नेम्बाङको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ। शनिबार गजुरमुखीमा सम्पन्न एमालेको प्रतिनिधिसभा निर्वाचत क्षेत्र समन्वय कमिटी बैठकले सुहाङको नाम सर्वसम्मत् रूपमा एकल सिफारिस गर्ने निर्णय गरेको हो।
नेम्बाङ २०८१ वैशाखमा सम्पन्न उपनिर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलहरूको गठबन्धनलाई पराजित गर्दै विजयी बनेका थिए। उक्त निर्वाचनमा नेम्बाङले २७ हजार ७ सय ७२ मत प्राप्त गरे भने निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले २२ हजार ९ सय ४२ मत पाएका थिए।
एमालेले इलाम क्षेत्र २ मा सुहाङ नेम्बाङलाई सिफारिस गरेको यो निर्णयले पार्टीको स्थिरता र निरन्तरता देखाउँछ। इलाम क्षेत्र २ मा २०५६ सालयता सबै निर्वाचन जित्दै आएको एमालेको इतिहास पनि यसमा जोडिएको छ। यसअघि सुहाङकै बुबा सुवासचन्द्र नेम्बाङ यस क्षेत्रबाट निर्वाचित भएका थिए। सुहाङ भर्खरै सम्पन्न एमालेको ११औं महाधिवेशनमा केन्द्रीय सदस्य पनि निर्वाचित भएका थिए।
यसैगरी, एमालेले इलाम क्षेत्र १ का लागि महेश बस्नेत, काजीमान कागते र दुर्गादेवी भट्टराईको नाम सिफारिस गरेको छ। बस्नेत २०७९ सालमा सम्पन्न निर्वाचनमा विजयी भएका थिए। कागते कोशी प्रदेशसभाका पूर्वसदस्य हुन् भने भट्टराई सूर्योदय नगरपालिकाकी पूर्वप्रमुख हुन्।







