कल्की संवाददाता बुटवल। दाङको निर्वाचन क्षेत्र नं. ३ अन्तर्गतको बबई गाउँपालिका १ र ७ का केही मतदान केन्द्रमा स्थानीयले मत बहिष्कार गर्ने भनेपछि अझै मतदान सुरु भएको छैन।
बबई गाउँपालिका–१ का अध्यक्ष प्रेमबहादुर डाँगीका अनुसार बबई–१ को गंगटे, भाङोबारीमा भने मतदान सुरु भए पनि वडा नं. १ को जिलामा मतदान सुरु हुन सकेको छैन। दाङ क्षेत्र नं. ३ का निर्वाचन अधिकृत चन्द्रबहादुर सिंजालीले बबई– ७ मलैमा पनि मतदान सुरु नभएको बताए। वडा नं. १ को जिला मतदान केन्द्रमा ८८२ र मलैमा ५३० जना मतदाता छन्। निर्वाचन अधिकृत सिंजालीले कर्मचारी मतपेटिका कुरेर बसेको बताए।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यी गाउँका बासिन्दाले वन्यजन्तु र मानिसबीचको बढ्दो द्वन्द्वका कारण बस्ती स्थानान्तरणको प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्रै मत दिने बताएका छन्।







