April 25, 2026, Saturday
२०८३ बैशाख १२
Nepal 1:37:26 pm
Trending

एमाले अध्यक्ष ओलीका कट्टर समर्थक नेता कृष्णगोपाल श्रेष्ठले, छाडे ओेलीकाे साथ

1.1K

कल्की संवाददाता
२०८२ पुष १

नेकपा एमालेको एघारौं महाधिवेशन चलिरहेका बेला सचिव पदका दाबेदार नेता कृष्णगोपाल श्रेष्ठले अध्यक् केपी शर्मा ओलीको साथ छाडेको घोषणा गरेका छन्। उनले अध्यक्ष ओलीको व्यवहारिक शैलीबाट आफू गम्भीर रूपमा पीडित भएको सार्वजनिक अभिव्यक्ति दिएका छन्।

भृकुटीमण्डपमा जारी बन्दसत्रका क्रममा उम्मेदवारी दर्ता प्रक्रियामा सहभागी हुँदै श्रेष्ठले आफूलाई सचिव पद उपयुक्त ठानेर दाबी प्रस्तुत गरेको बताए। उपाध्यक्ष पदको प्रस्ताव आए पनि त्यसमा सहमत नभई सचिव पदमै अडान लिएको उनको भनाइ छ।

चौथो महाधिवेशनदेखि निरन्तर पार्टी राजनीतिमा सक्रिय रहँदै आएको उल्लेख गर्दै श्रेष्ठले विगतका महाधिवेशनहरूमा पनि सचिव पदमा उठ्ने प्रयास भए तापनि पटक–पटक आफ्नो नाम काटिएको गुनासो गरे। नवौं र दशौं महाधिवेशनमा समेत समान अवस्था दोहोरिएको उनको दाबी छ।

उनले मदन भण्डारीको विचारबाट विकसित पार्टीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीजस्ता व्यक्तित्वसमेत समेटिन नसक्नु गम्भीर विषय भएको टिप्पणी गरे। पार्टी नेतृत्वको व्यवहारप्रति असन्तुष्टि जनाउँदै श्रेष्ठले व्यक्ति–केन्द्रित राजनीति अस्वीकार्य भएको र पार्टी सामूहिक पहलबाट अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

यसअघि केपी शर्मा ओलीको कट्टर समर्थकका रूपमा चिनिएका श्रेष्ठ संसद् विघटनको समयमा ओलीको बचाउमा आक्रामक रूपमा प्रस्तुत भएका थिए र उनलाई ‘फुटबलको पेलेजस्तै’ व्यक्तित्वको संज्ञा दिएका थिए। तर एघारौं महाधिवेशनसम्म आइपुग्दा उनले सार्वजनिक रूपमा ओलीको कित्ता त्याग्दै नयाँ राजनीतिक अडान लिएका छन्।