June 12, 2026, Friday
२०८३ जेष्ठ २९
Nepal 1:37:26 pm
Trending

अमेरिकाले नेपालमा गोप्य रणनीति बनाइरहेको दाबी

735

कल्की संवाददाता
२०८२ माघ २९

काठमाडौँ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र तथाकथित ‘जेनजी आन्दोलन’ पछिका उतारचढावबीच विदेशी शक्ति केन्द्रहरूको चासो र सम्भावित हस्तक्षेपबारे फेरि बहस चुलिएको छ। यसै सन्दर्भमा भारतीय गुप्तचर संस्था ‘रअ’ का पूर्वएजेन्टका रूपमा चिनिएका लक्की विष्टले सार्वजनिक रूपमा केही सनसनीपूर्ण दाबी गरेका छन्, जसले भूराजनीतिक बहसलाई थप तताएको छ।

विष्टका अनुसार अमेरिकाले आगामी चुनावलाई आफ्नो रणनीतिक हितअनुकूल बनाउन नेपालमा सक्रिय चलखेल गरिरहेको छ। उनले विश्वकै शक्तिशाली सैन्य संरचनामध्ये एक मानिने युनाइटेड स्टेट इन्डो-प्यासिफिक कमाण्डका प्रमुख एडमिरल सामुएल पापारोको काठमाडौँ भ्रमणलाई त्यसै सन्दर्भमा जोड्दै नेपाल भूराजनीतिक प्रतिस्पर्धाको “चक्रव्यूह”मा फसिसकेको दाबी गरेका छन्।

उनको कथन छ “नेपालमा मार्च ५ मा चुनाव हुँदैछ, र चुनावलाई आफ्नो अनुकूल बनाउन शक्तिशाली सैन्य संगठनका प्रमुख नेपाल ओर्लिएका हुन्। केही दिनअघि एमआई–६ का एजेन्ट पनि नेपाल आएर फर्किएको सूचना छ, तर यो गतिविधि सामान्य जनचासोबाट बाहिरै रह्यो।”

विष्टले अमेरिकाले चीन र भारतविरुद्ध रणनीतिक दबाब सिर्जना गर्न नेपाललाई सम्भावित मोहराका रूपमा प्रयोग गर्न खोजेको आरोप लगाएका छन्। उनका अनुसार, “नेपाली भूमि केवल रणनीतिक उपयोगका लागि हेर्ने प्रवृत्ति देखिएको छ। आवश्यक परे अमेरिकाले नेपालमार्फत क्षेत्रीय शक्ति सन्तुलनमा हस्तक्षेप गर्न सक्छ।”

निर्वाचनपछिको सरकार गठन प्रक्रियालाई पनि उनले शंकाको घेरामा राखेका छन्। “इन्डो–प्यासिफिक कमाण्ड, जसअन्तर्गत जल, थल र वायु सेना सबै समावेश छन्, त्यसका प्रमुख त्यतिकै नेपाल आएका होइनन्। निर्वाचन परिणामलाई प्रभाव पारेर भावी सरकारलाई रणनीतिक रूपले आफ्नो अनुकूल बनाउने उद्देश्य हुन सक्छ,” विष्टको दाबी छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षासँग सम्बन्धित टोलीमा काम गरिसकेको दाबी गर्ने विष्टले नेपाली नागरिकलाई सजग रहन आग्रह गरेका छन्। उनी विगतमा पनि नेपालमा सरकार परिवर्तन, भूराजनीतिक तनाव र विदेशी हस्तक्षेपबारे विभिन्न प्रक्षेपण सार्वजनिक गर्दै आएका पात्र हुन्।

केपी शर्मा ओली नेतृत्वको सरकारको पतनअघि समेत उनले यस्तै भविष्यवाणी गरेका थिए। सन् २०२४ को डिसेम्बरमा नेपालमा चाँडै राजनीतिक परिवर्तन हुने संकेत दिएका विष्टले त्यसयता पनि नेपालको भूराजनीतिक अवस्थाबारे निरन्तर टिप्पणी गर्दै आएका छन्।

उनका दाबीहरूलाई लिएर सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले यसलाई क्षेत्रीय शक्ति प्रतिस्पर्धाको सन्दर्भमा गम्भीर रूपमा लिनुपर्ने तर्क गर्छन् भने केहीले यस्ता दाबीलाई प्रमाणसहित पुष्टि हुनुपर्ने विषयका रूपमा हेर्छन्।

नेपाल, भारत, चीन र अमेरिकाबीचको रणनीतिक सन्तुलनको केन्द्रमा रहेको मुलुकका रूपमा चिनिँदै आएको सन्दर्भमा यस्ता अभिव्यक्तिहरूले राष्ट्रिय राजनीति र कूटनीतिक बहसलाई थप संवेदनशील बनाएको छ।