April 20, 2026, Monday
२०८३ बैशाख ७
Nepal 1:37:26 pm
Trending

जेनजी मुभमेन्ट नेपालद्वारा गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्तको माग

240

कल्की संवाददाता
२०८३ बैशाख ७

काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग गरेको छ। पदमा रहँदा निष्पक्ष छानबिन नहुने बताउँदै जेनजी मुभमेन्टले गृहमन्त्री गुरुङलाई बर्खास्त र पक्राउ गरी निष्पक्ष छानबिन अघि बढाउन माग गरेको हो।

पदमै बसेर छानबिन गर्नु सम्भव नभएको बताउँदै ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट’ हुने र यसले न्याय प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाउने तर्क गरिएको छ। जेनजी मुभमेन्ट, नेपालका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा मन्त्री पदको ओहदामा रहेर आफ्नैविरुद्ध छानबिन हुन नसक्ने र यो आधारभूत नैतिकता र कानुनी सिद्धान्तविरुद्ध रहेको बताइएको छ।

त्यसैगरी, बालेद्र शाह नेतृत्वको सरकारलाई लक्षित गर्दै मुभमेन्टले क्याबिनेट गठन र मन्त्री नियुक्तिमा परिपक्वता, दूरदर्शिता र जवाफदेहिता देखाउन आग्रह गरेको छ। हचुवाको भरमा मन्त्री नियुक्त गर्ने र हटाउने प्रवृत्ति अस्वीकार्य रहेको पनि वक्तव्यमा उल्लेख छ।

मुभमेन्टले वर्तमान सरकारलाई ‘७६ जना शहीदहरूको बलिदानबाट प्राप्त जनादेशको प्रतिनिधि’ भन्दै जनताको त्यागमाथि सस्तो राजनीति नगर्न चेतावनी दिएको छ। सुशासन, पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता स्वीकार्य नहुने समेत उल्लेख गरिएको छ।

‘क्याबिनेटमा कसलाई लैजाने भन्ने निर्णय गम्भीर राजनीतिक र नैतिक निर्णय हो। हचुवाको भरमा मन्त्री नियुक्त गर्ने, फेरि हटाउने कच्चा र अमर्यादित खेल अब अस्वीकार्य छ। जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता देखाउनै पर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो कुनै साधारण सरकार होइन। यो ७६ जना शहीदहरूको रक्तबलिदानबाट प्राप्त जनादेशको प्रतिनिधित्व हो। जनताको त्याग र बलिदानमाथि सस्तो राजनीति गर्ने अधिकार कसैलाई छैन। सुशासन, पारदर्शिता र जवाफदेहिताको मामिलामा कुनै किन्तु–परन्तु, सम्झौता वा ढिलासुस्ती स्वीकार्य हुन सक्दैन।’

मुभमेन्टले न्याय प्रक्रिया स्वतन्त्र, निष्पक्ष र दबाबमुक्त हुनुपर्ने र दोषी जो–कोही भए पनि कानुनको कठघरामा उभिनै पर्ने भनाइ राख्दै पद, शक्ति वा राजनीतिक संरक्षणले कसैलाई पनि उन्मुक्ति दिन नसकिने र जनताको आशा र शहीदहरूको सपनासँग खेलबाड गर्न नापाइने चेतावनी दिएको छ। विवादास्पद व्यापारी दीपक भट्टसँग गृहमन्त्री गुरुङको साझेदारी रहेको विषय बाहिरिएपछि उनी अहिले विवादमा छन‍्।