कल्की संवाददाता परासी — पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा वर्षाका कारण ८ घन्टादेखि अवरुद्ध भएको यातायात संचालनमा आएको छ । पानी पर्न छोडेपछि यातायात संचालन हुन थाले पनि हिलोले गर्दा लामो जाममा बस्न यात्रु बाध्य छ्न् । यातायात चल्न सुरु गरे पनि जामको कारण दाउन्ने पार गर्न भने २/३ घन्टा लाग्ने गरेको छ । दाउन्ने बजार क्षेत्र, पैसट्ठी मोड र दाउन्ने ओरालोमा सवारी संचालन नसक्दा यातायात अवरुद्ध भएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार सवारी चल्न सुरु गरे पनि निकै सुस्त र जाम भने कायमै छ । बुटवल-नारायणगढ सडक विस्तारअन्तर्गत अहिले दाउन्ने खन्डमा काम भैरहेको छ । सडक विभागले शुक्रबार रातिबाट मालबहाक सवारीलाई चैत ८ गतेसम्म रातको समयमा संचालनमा रोक लगाएर यात्रुबहाक र अत्यावश्यक सवारी मात्र संचालन गर्न दिएको छ । तर, रातभरिको वर्षाले सडकमा भल बगेर बस पनि चल्न नसकेपछि यात्रु मर्कामा परेका छ्न् ।







