April 16, 2026, Thursday
२०८३ बैशाख ४
Nepal 1:37:26 pm
Trending

धनकुटामा विद्युत् सेवा पूर्ण सञ्चालनमा आउन ३-४ दिन लाग्ने

250

कल्की संवाददाता
२०८२ चैत्र ६

धनकुटा — सोमबार राति आएको हावाहुरीका कारण अवरुद्ध विद्युत् सेवा धनकुटाका सबै क्षेत्रमा पूर्ण रूपमा सञ्चालनमा आउन अझै ३ देखि ४ दिन लाग्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख विजलीप्रसाद यादवका अनुसार शुक्रबार बिहानसम्म सदरमुकाम तथा मुख्य बजार क्षेत्रमा विद्युत् सञ्चालन भए पनि ग्रामीण भेगमा मर्मत समारको काम अझै बाँकी छ ।

छथर जोरपाटी गाउँपालिकाको तेलिया, पिप्ले, कर्कले लगायतका क्षेत्रमा सोमबार बेलुकादेखि अवरुद्ध विद्युत् अझै सञ्चालनमा आउन सकेको छैन। वडा नम्बर ४ मार्सेका टेकेन्द्र पराजुलीले विद्युत् नहुँदा दैनिक जनजीवन कष्टकर बन्दै गएको बताए। उनका अनुसार हावाहुरीका कारण १० भन्दा बढी स्थानमा तार चुँडिनुका साथै पोल ढलेका छन्, जसले गर्दा सञ्चार सेवा समेत प्रभावित भएको छ।

सदरमुकाम धनकुटा बजारका केही स्थानमा समेत अझै विद्युत् आपूर्ति नियमित हुन सकेको छैन। कचिडेका स्थानीय ज्योतिराम पोखरेलले सोमबार रातिदेखि अवरुद्ध सेवा अझै पुनःस्थापना हुन नसकेको गुनासो गरे।

त्यसैगरी चौबिसे गाउँपालिका र सहिदभूमि गाउँपालिकाका खोकु तथा छिन्ताङका ग्रामीण क्षेत्रमा पनि विद्युत सेवा अवरुद्ध नै रहेको छ। प्राधिकरणका अनुसार चौबिसे गाउँपालिकामा मात्रै करिब २५० वटा काठका पुराना बिजुलीका पोल प्रतिस्थापन गर्नुपर्ने अवस्था रहेको छ।

ग्रामीण क्षेत्रमा पूर्णरूपमा विद्युत सेवा पुनःस्थापना गर्न अझै केही दिन लाग्ने प्राधिकरणले जनाएको छ। विद्युत अवरुद्ध हुँदा पोल्ट्री व्यवसाय समेत प्रभावित भएको छ भने ब्रोइलर कुखुरा पालक किसानहरू समस्यामा परेका छन्।