April 20, 2026, Monday
२०८३ बैशाख ७
Nepal 1:37:26 pm
Trending

पर्दा पछाडिको क्यामुफ्लाज : टेन्डर, सम्धी, सम्भाररथी र प्रधानसेनापतिको सुईधागो

530

कल्की संवाददाता
२०८२ माघ २९

काठमाडौँ । नेपाली सेनाले क्यामुफ्लाज कपडा किन्ने भनिएको छ। तर यसपटक कपडा मात्रै क्यामुफ्लाज होइन, प्रक्रिया पनि क्यामुफ्लाजजस्तै देखिन थालेको छ। बाहिरबाट हरियो, भित्रबाट कालो जसरी युद्धभूमिमा लुकेर अघि बढिन्छ, त्यसरी नै ५० करोडको टेन्डर पनि शान्त र “क्लोज डोर” को छायाँमा अघि बढिरहेको छ भन्ने आरोपहरू उठेका छन्।

यदि सैनिक स्रोतहरूका दाबीहरू सत्य हुन् भने, यो टेन्डर कागजमा खुला प्रतिस्पर्धा भए पनि व्यवहारमा सीमित वृत्तको उत्सव जस्तो देखिन्छ। शक्तिशाली सम्धी यादव कुँवरको सिफारिस, सम्भाररथी उपरथी प्रकाश थापाको संयोजन, र प्रधानसेनापति अशोकराज सिग्देलको मौनता यी नामहरू आरोपको धागोमा गाँसिएर एउटा यस्तो जाल बुन्दैछन्, जसले पारदर्शिताको घाम छेक्ने प्रयास गरिरहेको छ कि भन्ने प्रश्न उब्जिएको छ।

सेनाभित्र विगतमा हुने गरेको बहुपक्षीय मूल्यांकन लिगल, लेखा, टेक्सटाइल गणका प्राविधिकहरूको सहभागिता यसपटक किन पर धकेलियो? के प्राविधिकहरू अचानक अयोग्य भए, कि प्रक्रिया नै “योग्य” सीमित हातहरूमा सुरक्षित राख्नुपर्‍यो? १० दिनको समय। ५० करोडको खेल। नमुना बुझाउने समय अपुग। प्रतिस्पर्धीहरू बाहिर। यो संयोग हो कि रणनीति?

यदि आरोपहरू केवल अफवाह हुन् भने, त्यसलाई गलत सावित गर्न सबैभन्दा सजिलो उपाय पारदर्शिता हो। तर यदि पारदर्शिताको सट्टा मौनता रोजिन्छ भने, त्यो मौनता आफैंमा धेरै बोल्छ। सेना जस्तो संस्थाले आफ्नो अनुशासन, निष्ठा र राष्ट्रप्रतिको समर्पणलाई कवच बनाउँदै आएको छ। तर जब खरिद प्रक्रिया नै कवचभित्र लुकेर अघि बढ्छ, तब प्रश्नहरू गोलीझैं टोक्न थाल्छन्।

सम्धी सम्बन्धले यदि सिफारिसको सिँढी चढाएको हो भने, त्यो सिँढी संस्थागत नैतिकताको भित्तामा टेकेको छ कि व्यक्तिगत पहुँचको खम्बामा? र यदि सबै कुरा विधिसम्मत छ भने, किन न सार्वजनिक रूपमा विस्तृत प्राविधिक मूल्यांकन प्रतिवेदन, सहभागी विभागहरूको सूची र निर्णय प्रक्रिया सार्वजनिक गरियोस्? सेनाको क्यामुफ्लाज कपडा त युद्धमा शत्रुलाई छल्न बनाइन्छ। तर यदि प्रक्रिया नै क्यामुफ्लाज भयो भने, त्यसले शत्रु होइन । नागरिकको विश्वासलाई छल्छ।

अन्ततः प्रश्न व्यक्ति होइन, प्रणालीको हो। यदि प्रणाली बलियो छ भने कुनै सम्धी, कुनै सिफारिस, कुनै ‘सेटिङ’ ले त्यसलाई हल्लाउन सक्दैन। तर यदि प्रणाली नै कमजोर छ भने, ५० करोडको कपडाले ढाकिएको त्यो कमजोरी एक दिन नाङ्गो भएरै बाहिर आउनेछ।पारदर्शिता नै सर्वोत्तम प्रतिरक्षा हो । नत्र क्यामुफ्लाजले लुकाएको कथा इतिहासले कहिल्यै लुकाउन सक्दैन।