June 11, 2026, Thursday
२०८३ जेष्ठ २८
Nepal 1:37:26 pm
Trending

राप्ती राजमार्ग स्तरवृद्धिका दैनिक ६ घण्टा बन्द

930

कल्की संवाददाता
२०८२ माघ ८

सल्यान —राप्ती राजमार्ग अन्तर्गत हर्नेटी–कपुरकोट सडक खण्ड स्तरवृद्धिको लागि बिहीबारदेखि दैनिक ६ घण्टा यातायात बन्द गरिने भएको छ । सडक डिभिजन कार्यालय दाङले सूचना प्रकाशन गरी स्तरव‍ृद्धिको लागि राप्ती राजमार्ग अन्तर्गत हर्नेटी–कपुरकोट सडक खण्ड दैनिक ६ घण्टा बन्द हुने जानकारी दिएको छ ।

सूचना अनुसार माघ २६ गतेसम्म दैनिक ११ बजेदेखि बेलुकी ५ बजेसम्म सडक बन्द रहनेछ । कार्यालयले सडक बन्दको समयमा वैकल्पिक मार्ग पैयाखोरिया–साताबास–किमुचौर–कपुरकोट, तुलसिपुर–बल्ले–लुहाम र लुहाम–कालिमाटी–तुलसिपुर सडक प्रयोग गर्न यात्रु तथा गाडी व्यवसायीलाई आग्रह गरेको छ । बन्दका कारण दाङ, सल्यान, रुकुम र रोल्पाका स्थानीय प्रभावित भएका छन् ।

हर्नेटीदेखि कपुरकोटसम्म सडक कालोपत्रे गर्नका लागि कटिङको काम भइरहेको र नियमित गाडी सञ्चालनले निर्माणको काम प्रभावित हुने भएपछि छिटो भन्दा छिटो काम सम्पन्न गर्नका लागि बिहीबारदेखि माघ २६ गतेसम्मका लागि दैनिक ६ घण्टा यातायात सेवा बन्द गरिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्र बहादुर विष्टले बताए ।निर्माणको काम चाडो सम्पन्न भए सल्यान–दाङ–रोल्पा र रुकुमका स्थानीयलाई धेरै राहत हुने र जोखिम यात्रा गर्न नपर्ने उनले जानकारी गराए ।