कल्की संवाददाता काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् पुनको राजीनामाबारे जानकारी दिएका हुन् ।खनालले आफ्नो फेसबुकमार्फत् लेख्दै महाविर पुनले आफ्नै अभियानमा सक्रिय हुनका लागि मन्त्री पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । “महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो,” खनालको फेसबुक स्टाटसमा भनिएको छ ।यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पनि पदबाट राजीनामा दिइसकेका छन् ।
उनीहरू आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका छन् ।तर महाविर पुनले भने निर्वाचनमा उम्मेदवारी दिने वा नदिनेबारे अहिलेसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । उनको राजीनामापछि शिक्षा मन्त्रालयको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा भने सरकारबाट कुनै जानकारी आएको छैन ।







