April 16, 2026, Thursday
२०८३ बैशाख ४
Nepal 1:37:26 pm
Trending

सोमबार साउदी अरेबियासँग श्रम सम्झौता

1K

कल्की संवाददाता
२०८२ माघ १०

काठमाडौँ । सोमबार साउदी अरेबिया र नेपालबिच श्रम सम्झौता हुने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी नेतृत्वको टोली आइतबार साउदी जाने तय भएको छ ।

प्रमुख श्रम गन्तव्य मुलुक भए पनि साउदीसँग पहिलोपटक श्रम सम्झौता हुन लागेको हो । गत १३ भदौको मन्त्रिपरिषद् बैठकले साउदीसँग श्रम सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको थियो । त्यसपछि आवश्यक तयारी गरेर सोमबार सम्झौता हुन लागेको मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए । ‘प्रमुख श्रम गन्तव्य मुलुकभित्र पर्ने साउदीसँग सम्झौता गर्दा नेपाली कामदारको हितलाई पहिलो प्राथमिकता राखिनेछ,’ उनले भने, ‘कामदारको सुरक्षा र अधिकारलाई ध्यान दिएर सम्झौता हुनेछ ।’ साउदीसँगको सम्झौतामा श्रमिकको तलब–सुविधा, वातावरणमैत्री कार्यस्थल, सुरक्षाको प्रत्याभूति, अदक्ष र अर्धदक्षसँगै सिपयुक्त कामदार पठाउन पहल गर्नेलगायतका विषय समेट्ने नेपाली पक्षको तयारी छ ।

तीन महिनायता साउदी अरेबिया नेपाली कामदारको पहिलो रोजाइमा पर्दै आएको छ । वैदेशिक रोजगार विभागका अनुसार कात्तिकमा १५ हजार सात सय ६९, मंसिरमा १४ हजार तीन सय ३९ र पुसमा १३ हजार तीन सय २७ श्रमिक साउदी पुगेका छन् । जुन संख्या अन्य मुलुकमा रोजगारीका लागि जाने युवाको तुलनामा सबैभन्दा धेरै हो ।

ओमानलाई श्रम सम्झौताका लागि मन्त्रालयले पत्राचार गरेको छ । २१ पुसको मन्त्रिपरिषद् बैठकले ओमानसँग पहिलोपटक श्रम सम्झौता गर्न स्वीकृति दिएको थियो । त्यसपछि पत्राचार गरेको मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए । ‘मन्त्रिपरिषद्को निर्णयपछि ओमानलाई श्रम सम्झौताका लागि पत्राचार भएको छ, अब छलफल गरेर श्रम सम्झौताको मिति टुंग्याउँछौँ ।’ ओमान प्रमुख दश श्रम गन्तव्य मुलुकको सूचीभित्रै पर्छ । पुसमा मात्रै १५ सय १६ युवाले वैदेशिक रोजगार विभागबाट ओमानका लागि श्रम स्वीकृति लिएका थिए ।

पुसमा ६२ हजार युवा वैदेशिक रोजगारीमा


वैदेशिक रोजगारीका लागि पुसमा ६२ हजार पाँच सय ५९ युवा बिदेसिएका छन् । यीमध्ये सबैभन्दा धेरै साउदी अरेबियामा १३ हजार तीन सय २७ श्रमिक गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।विभागका अनुसार रोजगारी खोज्दै एक सय पाँच मुलुकमा युवा पुगेका छन् । सरकारले एक सय १० मुलुक श्रम गन्तव्यका लागि खुला गरेको छ । नेपाली श्रमिकका लागि पछिल्लो तीन महिनायता साउदी अरेबिया पहिला रोजाइ बन्दै आएको छ । जेन–जी आन्दोलनयता युएईले नेपालीलाई भिसामा कडाइ गरेका कारण नेपाली श्रमिक साउदीतर्फ मोडिएका हुन् ।

पुसमा साउदीपछि कतारमा १२ हजार ४६, युएईमा नौ हजार पाँच सय १७, मलेसियामा आठ हजार पाँच सय ३२ र कुवेतमा चार हजार तीन सय ११ नेपाली श्रमका लागि पुगेको विभागले जनाएको छ । मंसिरको तुलनामा पुसमा रोजगारीका लागि बिदेसिनेको संख्या भने कम हो । मंसिरमा विभिन्न एक सय आठ मुलुकमा ६५ हजार सात सय पाँच युवा गएका थिए ।