कल्की संवाददाता काठमाडौँ । संखुवासभाको मकालु वरुण क्षेत्रमा दुई वर्ष अघि भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा पाइलटको कमजोरी रहेको पाइएको छ । सरकारद्वारा गठित दुर्घटना जाँच आयोगले तयार पारेको अन्तिम प्रतिवेदन अनुसारले यस्तो देखाएको हो । २०८० वैशाख २२ गते उक्त दुर्घटना भएको थियो । प्रतिवेदन अनुसार दुर्घटना हुँदा स्किड कन्ट्याक्ट पार्सियल होभरको अवस्थामा थियो । यो यस्तो अवस्था हो जहाँ हेलिकप्टरले पूर्ण रूपमा जमिनमा अवतरण गरेको हुँदैन । अर्थात् हेलिकप्टर उडिरहेकै अवस्थामा हुन्छ तर हेलिकप्टरको एउटा वा दुवै खुट्टाको केही भाग जमिनमा छोएको हुन्छ । यो अवस्थामा सन्तुलन मिलाउन पाइलटले अधिक नियन्त्रण गर्दा समस्या भएको समितिको निष्कर्ष छ ।

अपर अरुण जलविद्युत आयोजनाको सामान ढुवानीका लागि खटिएको ९एन(एजेजेड, एएस ३५० बी थ्री ई हेलिकप्टरले दुर्घटना भएको दिन १६ वटा उडान भरिसकेको थियो । १७ औँ उडानका क्रममा पाइलटले सामान अनलोड गर्न र कर्मचारी ओराल्नका लागि पूर्ण अवतरण गर्ने ठाउँ नपाएपछि बायाँ स्किड मात्र जमिनमा छुवाएर राख्ने निर्णय गरेका थिए। प्रतिवेदनका अनुसार हेलिकप्टरबाट सामान र कर्मचारी ओराल्ने क्रममा अचानक हेलिकप्टरको भार सन्तुलन बिग्रिन गयो। पाइलटले हेलिकप्टरलाई बायाँ ढल्किनबाट बचाउन साइक्लिक कन्ट्रोलको प्रयोग गरेर सच्याउने प्रयास गरे ।

तर, पाइलटले यसमा अधिक नियन्त्रण गरे जसले गर्दा हेलिकप्टर थप अनियन्त्रित भई नजिकै रहेको ड्रिलिङ मेसिनको माथिल्लो भागमा रोटर ठोक्किन पुग्यो । रोटर ठोक्किएपछि हेलिकप्टर करिब ८ फिट तल खसेर पल्टिएको थियो। दुर्घटनामा परी हेलिकप्टरमा सवार एक जना स्थानीय सहयोगीको घटनास्थलमै मृत्यु भएको थियो । ती सहयोगीलाई हेलिकप्टर सञ्चालन सम्बन्धी कुनै तालिम वा जानकारी नदिइएको प्रतिवेदनमा उल्लेख छ । दुर्घटनामा पाइलट गम्भीर घाइते भएका थिए भने एक यात्रु सामान्य घाइते भएका थिए।

आयोगले दुर्घटना हुनुमा कुनै प्राविधिक खराबी वा मौसमको भूमिका नरहेको बताएको छ । स्किड कन्ट्याक्ट पार्सियल होभरका लागि कुनै लिखित मापदण्ड नभएको र पाइलटलाई यससम्बन्धी विशेष तालिम नभएको विषयलाई प्रतिवेदनले औँल्याएको छ। आयोगले आगामी दिनमा सुरक्षा सुधारका लागि सबै हेलिकप्टर सञ्चालकहरूले यो तालिम सञ्चालनका लागि अनिवार्य रूपमा एसओपी बनाएर नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत गराउनुपर्ने जनाएको छ । त्यस्तै, स्लिङ अपरेसनको समयमा पाइलटले केवल तालिम प्राप्त कर्मचारी मात्र हेलिकप्टरमा राख्नुपर्ने, नागरिक उड्डयन प्राधिकरणले पाइलट तालिमको आवश्यकता अध्ययन गरी यस्ता विशेष अपरेसनका लागि पाठ्यक्रम र निर्देशिका तयार पार्नुपर्ने समेत उल्लेख गरेको छ।







