कल्की संवाददाता भैरहवा – रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा प्रतिष्पर्धा गरेका ३५ जना उम्मेदवारको जमानत जफत भएको छ । उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका डा.लेखजंग थापाबाहेक अन्य सबै प्रतिष्पर्धी उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देही–३ बाट कुल ३६ जनाले उम्मेदवारी दिएका थिए।

रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले प्रत्यक्ष निर्वाचनतर्फ कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेमा जमानत जफत हुने प्रावधान अनुरुप निर्वाचितबाहेक अन्य सबैको १० प्रतिशत मत प्राप्त नभएको बताए । रुपन्देही–३ मा प्रत्यक्षतर्फ खसेको कुल मतमध्ये ८९ हजार ४ सय १४ मत सदर भएको थियो । ५८ हजार ८ सय १४ मत ल्याएर थापा निर्वाचित हुँदा निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४ सय ३५ मत प्राप्त गरेका थिए । जमानत जोगिन ८ हजार ९ सय ४१ मत प्राप्त गर्नुपर्ने हुन्छ ।







