April 16, 2026, Thursday
२०८३ बैशाख ४
Nepal 1:37:26 pm
Trending

यशराज फिल्म्स ‘मर्दानी ३’ विवादमा, झुटो हल्ला फैलाएको आरोप

650

कल्की संवाददाता
२०८२ माघ २५

मुम्बई । रानी मुखर्जी स्टारर बहुप्रतिक्षित चलचित्र ‘मर्दानी ३’ यतिबेला गम्भीर विवादमा फसेको छ। चलचित्रको प्रचारका लागि दिल्लीबाट ‘८०० मानिस, जसमा ३०० युवतीहरू, बेपत्ता भएको’ झुटो र सनसनीपूर्ण खबर फैलाएको आरोप निर्माण पक्षमाथि लागेको छ। चलचित्रको विषयवस्तु र बाहिर फैलिएको मिसिङ रिपोर्टको तालमेल मिलेपछि यशराज फिल्म्सले केही एजेन्सीहरूलाई पैसा दिएर जानाजानी यस्तो त्रास फैलाएको दाबी गरिएको छ। दिल्ली प्रहरीले यस विषयमा गम्भीर आपत्ति जनाउँदै आधिकारिक सोसल मिडियामार्फत यो केवल पैसा दिएर गरिएको ‘पब्लिसिटी स्टन्ट’ भएको पुष्टि गरेको छ।

प्रहरीको अनुसन्धानले अचानक युवतीहरू हराएको ग्राफ बढेको भन्दै फैलाइएको हल्ला नाफा कमाउने उद्देश्यले गरिएको देखाएको छ। दिल्ली प्रहरीले जनतामा डर र त्रास फैलाएर चलचित्रको व्यापार गर्न खोज्नेहरूलाई नछोड्ने र कडा कानुनी कारबाही गर्ने चेतावनी समेत दिएको छ। चौतर्फी आलोचना र प्रहरीको चेतावनीपछि यशराज फिल्म्सले भने यी आरोपहरूको खण्डन गरेको छ। कम्पनीका प्रवक्ताले आफ्नो ५० वर्ष लामो इतिहास नैतिकता र पारदर्शितामा टिकेको भन्दै संवेदनशील मुद्दालाई सनसनीखेज बनाएको दाबी झुटो भएको बताएका छन्। उनले आधिकारिक निकायहरूको छानबिनमा आफूहरूलाई पूर्ण विश्वास रहेको र सत्यतथ्य छिट्टै बाहिर आउने उल्लेख गरे पनि सामाजिक सञ्जालमा भने निर्माण पक्षको चर्को विरोध भइरहेको छ।