कल्की संवाददाता काठमाडौँ । काठमाडौंको बसन्तपुरमा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । यससँगै आजबाट रङ्गहरूको पर्व होलीको उत्सव पनि औपचारिक रूपमा शुरू भएको छ ।

फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व शुरू भएको मानिन्छ ।

यही प्रचलन अनुसार मंगलबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । साथै उनीहरूले एकअर्कालाई अबिर दलेर होली पर्व शुरू भएको जनाउ दिएका हुन् ।

आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रङ्गीचङ्गी कपडाका टुक्रा झुण्ड्याएर होली शुरू भएको जनाउ दिने गरिन्छ ।

यस वर्षको होली पर्वको मुख्य दिन फागुन १८ गते र १९ गते परेको छ । फागुन १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई/मधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।










