कल्की संवाददाता काठमाडौँ – जेलबाट रिहा भएसँगै नयाँ शक्तिहरुबीच एकताका लागि तिव्र रुपमा वार्ता अघि बढाएका रास्वपाका सभापति रवि लामिछानेले बालेन शाहलाई प्रधानमन्त्रीको बन्न प्रस्ताव गरेका छन् । आउदो फागुन २१ गते हुने निर्वाचनमा भावी प्रधानमन्त्रीको रुपमा चुनावमा होमिने योजनाका साथ रविले बालेनलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन् ।
निर्वाचन अघि नै नयाँ शक्तिहरुलाई एकतामा ल्याउने र चुनावमा बहुमत ल्याएर रास्वपाको नेतृत्वमा बन्ने सरकारको प्रधानमन्त्री बन्न बालेनलाई रविले प्रस्ताव गरेका हुन् । कमलपोखरी स्थित रास्वपाकै पूर्वसांसद असिम शाहको कार्यलयमा भएको ६ घण्टा लामो वार्तामा रविले बालेनलाई चुनावपछिको प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन् । अहिले आफूविरुद्ध विभिन्न मुद्दा भएकाले गर्दा मन्त्री वा प्रधानमन्त्री बन्ने अवस्था पनि नरहेकोले गर्दा पार्टीको नेतृत्व सम्हाल्ने रविले बताएका छन् । भावी प्रधानमन्त्रीको रुपमा बालेनलाई रास्वपा प्रवेश गराउने रविको प्रस्तावमा रास्वपकै नेताहरु समेत सकारात्मक रहेका छन् ।
काठमाडौं निर्वाचन-२ मा बसोबास गर्दै आइरहेका बालेनले आफू झापा-५ मा केपी शर्मा ओलीविरुद्ध चुनाव लड्ने योजनामा रहेको आफू निकट व्यक्तिहरुलाई बताउने गरेका छन् । रविको प्रधानमन्त्री बन्न प्रस्ताव र ओलीविरुद्ध चुनाव लड्ने बालेनको इच्छाले नेपाली राजनीतिमा ठूलै तरङ्ग ल्याएको छ ।







