कल्की संवाददाता काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतान्त्रिक पद्धतिको आत्मा विधिको शासन भएको उल्लेख गर्दै पार्टीभित्र विशेष महाधिवेशन अब अपरिहार्य आवश्यकता बनेको बताएका छन् ।
लोकतन्त्रमा राज्य, राजनीतिक दल वा संस्थाका सबै निर्णय र गतिविधि विधान, नियमावली तथा स्थापित प्रक्रियाअनुसार सञ्चालन हुनुपर्ने उल्लेख गर्दै उनले केन्द्रीय तहदेखि तल्लो तहसम्म नियमित अधिवेशन, बैठक, समीक्षा र आत्ममूल्याङ्कनको प्रणालीलाई संस्थागत र निरन्तर बनाउनु आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। निर्णय प्रक्रिया व्यक्ति, गुट वा भागबण्डामा केन्द्रित नभई विचार,बहस, सहमति र सहकार्यका आधारमा अघि बढ्नुपर्ने उनको भनाइ छ ।
नेता केसीले आर्थिक कारोबार, नियुक्ति र टिकट वितरणजस्ता संवेदनशील विषयमा पारदर्शिता, जवाफदेहिता र निष्पक्षता सुनिश्चित गर्दै आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउनु लोकतान्त्रिक पार्टीको अनिवार्य शर्त भएको बताए ।
नेपाली कांग्रेसलाई पुनः समयसापेक्ष, विश्वसनीय र सशक्त लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्न विधानको पालना गर्दै विशेष महाधिवेशन अनिवार्य रहेको उनको निष्कर्ष छ। सबै महाधिवेशन प्रतिनिधिलाई विशेष अधिवेशनमा सहभागी भई सहमतिमै निकास खोज्न उनले आग्रह गरेका छन् ।







