April 21, 2026, Tuesday
२०८३ बैशाख ८
Nepal 1:37:26 pm
Trending

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुति: नियमित सैनिक कूटनीतिलाई लिएर सामाजिक सञ्जालमा विवाद, सेनाको स्पष्टोक्ति

520

कल्की संवाददाता
२०८२ फाल्गुन ४

काठमाडौं, फागुन ३ – महाशिवरात्रि तथा नेपाली सेनाको वार्षिकोत्सव (सेना दिवस) का अवसरमा टुँडिखेलमा प्रस्तुत गरिएको अमेरिकी सैनिक ब्यान्डको सांगीतिक सहभागितालाई लिएर सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजीहरू देखिएपछि जङ्गी अड्डाले स्पष्टिकरण दिएको छ।

नेपाली सेनाका अनुसार, यो प्रस्तुति कुनै नयाँ वा असामान्य घटना नभई विगतदेखि नै चल्दै आएको नियमित सैनिक–सैनिक (Army to Army) सम्बन्धअन्तर्गतको सांगीतिक तथा औपचारिक सहभागिता हो।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले सञ्चारमाध्यमसँग कुरा गर्दै सेना दिवसका अवसरमा मित्र राष्ट्रका सैनिक ब्यान्डहरूलाई आमन्त्रण गर्ने परम्परा पुरानै रहेको बताए। उनका अनुसार, नेपालले पनि विभिन्न देशमा आयोजना हुने यस्तै कार्यक्रममा आफ्ना ब्यान्ड टोली पठाउँदै आएको छ। हालै मात्र भारतमा आयोजित सेना दिवस कार्यक्रममा नेपाली ब्यान्ड टोली सहभागी भएको उदाहरण उनले स्मरण गराए।

नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् १९४७ देखि औपचारिक सैन्य सम्बन्ध रहँदै आएको छ। समयक्रममा दुई देशबीच तालिम, अध्ययन, संयुक्त अभ्यास र अनुभव आदान–प्रदानका कार्यक्रम सञ्चालन हुँदै आएका छन्। नेपाली सेनाका अधिकृतहरूले अमेरिकास्थित विभिन्न स्टाफ कलेजहरूमा अध्ययन गर्ने परम्परा पनि लामो समयदेखि कायम छ।

यस्तै, नेपालले भारत, चीन, बेलायत, पाकिस्तान लगायतका मित्र राष्ट्रसँग संयुक्त सैन्य अभ्यास र सांस्कृतिक–औपचारिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। सेनाले यी गतिविधिहरूलाई नियमित र संस्थागत प्रक्रिया बताएको छ।

तर, प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालमा केही समूहले अमेरिकी ब्यान्डको प्रस्तुतिलाई राजनीतिक सन्दर्भसँग जोड्ने प्रयास गरेका छन्। विशेषगरी, ‘जेन–जी आन्दोलन’ सँग पश्चिमी शक्तिको सम्बन्ध रहेको दाबी गर्दै केहीले यो प्रस्तुतिलाई पनि त्यही कथनको निरन्तरता भएको आरोप लगाएका छन्।

सरकार तथा सेना निकट स्रोतहरू भने यस्तो व्याख्यालाई भ्रामक भन्दै विगतदेखि चलिआएको अभ्यासलाई चुनावी बहसको विषय नबनाउन आग्रह गर्छन्। पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवाका कार्यकालमा समेत यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन हुँदै आएको तथ्य उनीहरूले स्मरण गराएका छन्।

विश्लेषकहरूका अनुसार, सैनिक ब्यान्डको सांगीतिक प्रस्तुति सैन्य कूटनीतिक सम्बन्धको एक सौम्य र सांस्कृतिक पाटो हो, जसले पारस्परिक विश्वास र सहकार्यको सन्देश दिन्छ। त्यसैले, यस्ता गतिविधिलाई तथ्य र सन्दर्भसहित बुझ्न आवश्यक रहेको उनीहरूको धारणा छ।

यस घटनाले फेरि एकपटक देखाएको छ—सामाजिक सञ्जालको तीव्र प्रभावबीच आधिकारिक जानकारीको महत्त्व अझ बढेको छ। सेना दिवसको अवसरमा गरिएको उक्त प्रस्तुति नियमित कूटनीतिक अभ्यासकै निरन्तरता भएको नेपाली सेनाको स्पष्ट सन्देश छ।