कल्की संवाददाता गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा २०६४ सालदेखि आलोपालोको क्षेत्र भनेर चिनिदैँ आएको छ । यस क्षेत्रमा ०६४ सालदेखि नै एमाले र काँग्रेसले आलोपालो जित्दै आएका छन् । यस क्षेत्रमा ०६४ मा एमालेबाट प्रदिप ज्ञवाली, ०७० मा काँग्रेसबाट चन्द्र भण्डारी, ०७४ मा एमालेबाट पुन ज्ञवाली एवं ०७९ मा काँग्रेसबाट भण्डारी निर्वाचित भए । यसरी हेर्दा गत फागुन २१ गते भएको निर्वाचनमा एमालेका ज्ञवालीले जित्नुपर्ने थियो । तर यसपटक रास्वपाका सागर ढकालले आलोपालोको प्रणालीलाई ब्रेक गरेका छन् ।
यस क्षेत्रमा काँग्रेस र एमालेको बलियो संगठन छ । नेकपाको संगठन सबै पालिकामा भएपनि काँग्रेस–एमालेजत्तिको बलियो छैन । रास्वपाको त बल्लतल्ल सबै पालिकामा संगठन बनेको छ । सबै वडामा त अझैसम्म पनि संगठन बनेको छैन । निर्वाचनमा पनि रास्वपाले बल्लतल्ल सबै बुथमा एजेन्ट पायो । रास्वपाको लागि त्यही नै ठुलो कुरा हो । ३४ बर्षिय सागर दोस्रो पटक संसदीय अभ्यासमा सफल भए ।
पहिलो पटक उनी डडेलधुराबाट निर्वाचन लडेका थिए । ढकालले ३० हजार चार सय ४८ मत ल्याउदैँ निर्वाचनमा जित हाँसिल गरे भने उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रदिप ज्ञवालीले १५ हजार तीन सय २८ मत प्राप्त गरेका छन् । ढकालले प्रतिस्पर्धीलाई १४ हजार ४६१ मतान्तरले पराजित गरे । ढकालले जितेसँगै गुल्मी–१ मा आलोपालोको सिस्टमलाई ब्रेक गरेका छन् । उनको जितसँगै नागरिकमा नयाँ उत्साह थपिएको छ ।
सागर ढकाल पेशाले इन्जिनियर हुन । बिबिसीको साँझा सवालमा शेर बहादुर देउवालाई प्रश्न सोध्ने ढकाल ०७९ सालको निर्वाचनमा डडेलधुराबाट देउवासँगै निर्वाचन लडेपछि बढी चर्चामा आएका थिए । स्वतन्त्र उम्मेदवारी दिएका ढकालले गत निर्वाचनमा १३ हजार मतका साथ दोस्रो स्थानमा आएका थिए । अहिले देउवा उम्मेदवार नै नबनेपछि उनलाई संसद प्रवेशमा रोक लगाउने आफ्नो मिसन पुरा भएकोले उहाँ डडेलधुरा नभई आफ्नो जन्मघर गुल्मी–१ बाट निर्वाचन लडेका हुन् ।
सागर ढकाल नेपालका स्वतन्त्र युवा राजनीतिज्ञका रुपमा चिनिन्छन् । विशेष गरी युवामाझ वैकल्पिक राजनीति, पारदर्शिता र सुशासनको मुद्धा उठाउँदै सार्वजनिक बसहमा सक्रिय भएका कारण चर्चामा आएका हुन् । उनले इन्जिनियरिङ, जलस्रोत नीति, नियोजन तथा व्यवस्थापन जस्ता प्राविधिक तथा बहुसांस्कृतिक बिषयहरुमा गहिरो अध्ययन गरेका छन् ।







