April 16, 2026, Thursday
२०८३ बैशाख ४
Nepal 1:37:26 pm
Trending

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी मुख्यालय सानेपामा आज बस्दै

315

कल्की संवाददाता
२०८२ चैत्र ६

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ । सभापति गगन थापाको राजीनामा, आगामी नियमित महाधिवेशन, चुनावको समीक्षा र भावी रणनीति/कार्ययोजना बैठकका मूल एजेण्डा रहेका छन् ।

हालै सम्पन्न प्रतिनिधिसभा चुनावमा पार्टीको कमजोर नतिजामा आफूलाई जिम्मेवार ठान्दै सभापति थापाले राजीनामा दिएका छन् । यद्यपि, उपसभापति विश्वप्रकाश शर्माले थापाको राजीनामा अस्वीकृत हुने बताइसकेका छन् । सामाजिक सञ्जाल एक्समा बिहीबार शर्माले आजको बैठकमा सभापतिको राजीनामा पत्रसँगै राजीनामा अस्वीकृतको प्रस्ताव पनि पेश हुने बताए ।

प्रतिनिधि सभा चुनावमा रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ । यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका आफैँ सर्लाही–४ मा ठूलै मतान्तरले रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भए ।

थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए । २७ देखि ३० पुससम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन छ ।