कल्की संवाददाता काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित प्रतिनिधि सभा सदस्यको प्रशिक्षण आज पनि जारी रहनेछ । बिहान योग तथा ध्यानसहित शुरू भएको प्रशिक्षण आज पार्टी सभापति रवि लामिछानेको सम्बोधनसँगै समापन हुनेछ । आजको सत्रमा योजना, बजेट निर्माण, सुशासन र राजनीतिक संस्कार विकासको प्रशिक्षण दिनइने छ । औपचारिक र अनौपचारक बेग्लाबेग्लै सत्रको शुरूआत बिहानको योग र ध्यानबाट शुरू भएको छ ।

औपचारिक सत्रलाई बिहान ९ बजेदेखिको समय निर्धाण गरिएको छ । बिहान पहिलो सत्रमा पूर्वसचिव डा. तोयानारायण ज्ञवालीले सरकार सञ्चालन प्रक्रिया योजना तथा बजेट निर्माणका विषयमा सहजीकरण गर्नेछन् । सुशासन: अवधारणा र सभ्यासका विषयमा सांसद र नीति निर्माताका लागि दिइने प्रशिक्षणको सहजीकरण पूर्वसचिव प्रतापकुमार पाठकले गर्नेछन् ।

पार्टी र सांसदको सम्बन्ध: नयाँ राजनीतिक संस्कारमा सांसदको भूमिका, आचारसंहिता तथा न्यूनतम प्रतिवद्धताका विषयमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय सदस्य आरके ढुंगानाले सहजीकरण गर्नेछन् । अनि समूहगतरूपमा सांसदले एजेण्डा प्राथमिकता निर्धारणबारे सहभागी सबैले प्रस्तुति दिने कार्यसूची तय भएको छ ।








