कल्की संवाददाता काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी एकताका सन्दर्भमा ६०/४० को संरचनामा आधारित त्रिपक्षीय भागबन्डाको प्रस्ताव अघि सारेको छ। बिहीबार राति अबेरसम्म ललितपुरको ज्वागलमा बसेको छलफलमा रास्वपाले केन्द्रीय समिति तथा आगामी निर्वाचनमा आफ्ना लागि ४० प्रतिशत हिस्सा राख्दै बाँकी शक्ति अन्य पक्षसँग बाँड्ने प्रस्ताव प्रस्तुत गरेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार प्रस्तावअनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जा क्षेत्रमा परिचित कुलमान घिसिङलाई समान रूपमा २५–२५ प्रतिशत भाग दिने, बाँकी १० प्रतिशत हिस्सा जेनजी समूहलाई दिने अवधारणा राखिएको छ। भावी प्रधानमन्त्रीका रूपमा बालेनलाई अघि सार्ने विषयमा रास्वपा सभापति रवि लामिछाने सकारात्मक देखिएको बताइन्छ, यद्यपि पदाधिकारीको बाँडफाँट अझै टुंगो लाग्न बाँकी छ।
‘४०, २५/२५ र १० प्रतिशतको ढाँचामा सहमति खोज्ने गरी प्रस्ताव आएको हो। प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा रविजी सकारात्मक हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘तर पदाधिकारीको विषयमा बालेनजी सन्तुष्ट देखिनु भएको छैन। कुलमानजीको विषय भने हिजो राति १० बजे नै मिलिसकेको छ।’
एकतासम्बन्धी सहमतिलाई अन्तिम रूप दिन रास्वपाका राजनीतिक संवाद समितिका सहसंयोजक शिशिर खनाल र बालेन पक्षबाट कुमार बेनले गोप्य रूपमा गृहकार्य गरिरहेका छन्। दुवै पक्षबीच निर्णायक सहमतिका लागि आज बेलुका पुनः बैठक बस्ने तयारी छ। रवि, बालेन र कुलमानबीच सहमति बने आजै हस्ताक्षर हुन सक्ने स्रोतको दाबी छ।
तर बालेन पक्षले शक्ति सन्तुलन स्पष्ट नभएसम्म सहमति कठिन हुने संकेत गरेको छ। प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक भए पनि पार्टी एकीकरणपछि शक्ति सन्तुलन कसरी कायम हुन्छ भन्नेमा ठोस आधार चाहिएको उनीहरूको अडान छ। ‘नगरसभा सकेपछि बैठक बस्छौं, बेलुकासम्म निचोड आउँछ,’ बालेन निकट स्रोतले भन्यो।
यता, कुलमान घिसिङले भने आफू र रवि लामिछानेबीच एकताको विषयमा कुनै छलफल नभएको दाबी गरेका छन्। कल्की खबरसँग कुरा गर्दै उनले भने, ‘रविजी र बालेनबीच के भयो थाहा छैन, तर मसँग यसबारे कुनै कुरा भएको छैन।’







