April 20, 2026, Monday
२०८३ बैशाख ७
Nepal 1:37:26 pm
Trending

‘पब्लिक डिबेट’का लागि ओली तयार

775

कल्की संवाददाता
२०८२ माघ ११

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पब्लिक डिबेटका लागि आफू तयार रहेको बताएका छन्। शनिबार नै यसबारे बोलेका उनले आइतबार बिहान फेरि सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै आगामी निर्वाचनलाई देश जलाउने र देश बनाउने पक्षबीचको प्रतिस्पर्धा भएको जिकिर गरेका छन् ।  सो क्रममा ओलीले एमाले देश बनाउने तर्फबाट मैदानमा उत्रिएको दाबी गरेका छन्।

उनले नयाँ र पुराना सबै दल निर्वाचनमा होमिएको उल्लेख गर्दै यस बेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताबीच पारदर्शी बहसको माग उठिरहेको बताएका छन्। सामाजिक सञ्जालमा फ्रेमिङ गरेर ल्याइएका प्रचार सामग्रीमार्फत मतदातालाई प्रभावित पार्ने र वास्तविक चरित्र लुकाउने प्रवृत्ति बढेकाले पब्लिक डिबेटको माग आएको हुनसक्ने उनको भनाइ छ।

ओलीले यसपटकको निर्वाचनमा ऐतिहासिक भूमिका खेलेका दलदेखि नयाँ खुलेका दलसम्म प्रधानमन्त्रीको उम्मेदवार तोकेर मैदानमा आएको उल्लेख गरेका छन्। देशको नेतृत्व गर्न चाहने दलका एजेण्डा के हुन्, विगतमा के काम गरे र अब के गर्ने योजना तथा खाका छन् भन्ने विषयमा आमने–सामने बहसको माग सकारात्मक भएको उनले बताएका छन्।

‘यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के गर्‍यौं र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु,’ ओलीले फेसबुकमा लेखेका छन्। उनले चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्ने मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्न प्रतिबद्ध रहेको बताएका छन्। ओलीले यस्तो पब्लिक डिबेट आयोजना गरी सबै पक्षलाई सहभागी गराउन आग्रहसमेत गरेका छन्। हालसम्म पार्टीले नै ओली, रास्वपा नेता बालेन शाह र कांग्रेस सभापति गगन थापालाई निर्वाचनपछिको प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । निर्वाचन फागुन २१ मा हुँदैछ ।