June 12, 2026, Friday
२०८३ जेष्ठ २९
Nepal 1:37:26 pm
Trending

नेपाल–भारत सुरक्षा सहकार्यमा गहिरिँदो संवाद

805

कल्की संवाददाता
२०८२ माघ २०

काठमाडौँ — नेपालका अग्रणी थिंक ट्यांकहरूमध्ये एक नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड एंगेजमेन्ट (एनआईआईसीई) ले आफ्नो १०औँ वार्षिकोत्सवको सन्दर्भमा नेपाल–भारत सम्बन्धको संवेदनशील र महत्वपूर्ण आयामलाई केन्द्रमा राख्दै एक उच्चस्तरीय फोरम आयोजना गर्ने भएको छ।

आगामी माघ २७ गते मंगलबार काठमाडौँस्थित मेरियट होटलमा आयोजना हुने एकदिने ‘नेपाल–भारत सुरक्षा सहकार्य’ विषयक फोरममा दुई छिमेकी राष्ट्रबीचको सुरक्षा सम्बन्ध, विद्यमान चुनौती र भविष्यको सम्भावित दिशामाथि गम्भीर तथा दूरदर्शी विमर्श हुने आयोजकले जनाएको छ।

तीन सत्रमा विभाजित यो फोरममा सीमापार अपराध, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), आर्थिक सुरक्षा तथा समग्र क्षेत्रीय स्थायित्वसँग जोडिएका विषयहरूमा विज्ञहरूको विश्लेषणात्मक धारणा प्रस्तुत गरिनेछ। साथै, नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप मजबुत, विश्वासिलो र लचिलो बनाउने दिशामा थिंक ट्यांक, युवा पुस्ता तथा सञ्चारमाध्यमको भूमिकाबारे समेत विचार–विमर्श गरिनेछ।

दुवै देशका विशिष्ट वक्ताहरूको सहभागिता

फोरममा नेपाल र भारत दुवै देशका ख्यातिप्राप्त सुरक्षा, कूटनीति र नीति–विश्लेषण क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहनेछ। भारतबाट पूर्व उपराष्ट्रिय सुरक्षा सल्लाहकार तथा नेटस्ट्राटका प्रमुख राजदूत पंकज सरन, युनाइटेड सर्भिस इन्स्टिच्युट अफ इन्डियाका महानिर्देशक भाइस एडमिरल सञ्जय जशजित सिंह, इन्डिया फाउन्डेसनका क्याप्टेन डा. आलोक बंसल, प्राध्यापक सङ्गीता थपलियाल र डा. गौरव सैनी सहभागी हुनेछन्।

नेपालतर्फबाट राजनीतिक तथा सुरक्षा विश्लेषक (सेनि) मेजर जनरल बिनोज बस्न्यात, अनुराग आचार्य, डा. अंगना गुहा रोय, वरिष्ठ पत्रकार सञ्जीव सत्गैयाँ तथा कार्यक्रम संयोजक बिबेक ध्वज थापालगायतले आ–आफ्नो धारणा र प्रस्तुति राख्नेछन्।

संवाद नै समाधानतर्फको बाटो

कार्यक्रमबारे जानकारी दिँदै एनआईआईसीईकी निर्देशक सुमित्रा कार्कीले बदलिँदो क्षेत्रीय परिदृश्य र जटिल बन्दै गएका सुरक्षा चुनौतीहरूका सन्दर्भमा नेपाल र भारतबीच साझा सरोकारका विषयमा घनिष्ठ सहकार्य अपरिहार्य रहेको उल्लेख गरिन्।
उनले भनिन्, “यस्ता संवादमूलक मञ्चहरूले दुवै देशका विज्ञ, नीति–निर्माता र चिन्तकहरूलाई खुलेर विचार साटासाट गर्दै व्यावहारिक समाधानतर्फ अघि बढ्ने अवसर प्रदान गर्छन्।”

विदेश नीति, सुरक्षा र विकासका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको एनआईआईसीईले यसअघि पनि भारतीय थिंक ट्यांकहरूसँग सहकार्य गर्दै विविध प्राज्ञिक तथा नीतिगत गतिविधिहरू सञ्चालन गर्दै आएको छ। यस पटकको फोरमले नेपाल–भारत सम्बन्धलाई थप गहिरो समझदारी र दीर्घकालीन सहकार्यतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।