April 20, 2026, Monday
२०८३ बैशाख ७
Nepal 1:37:26 pm
Trending

धुवाँ, सायरन र एक पुस्ताको रगत : भदौका दुई दिनको अनुत्तरित प्रतिध्वनि

935

कल्की संवाददाता
२०८२ फाल्गुन १४

काठमाडौँ । भदौको घाम काठमाडौँमाथि तातो थियो, तर त्यस दिन सडकहरू घामले होइन । आक्रोशले पोलिएका थिए। काठमाण्डौंको नयाँ बानेश्वरदेखि तीनकुनेसम्म युवाहरूको भीड केवल नारा होइन, आफ्नो भविष्यको आवाज बोकेर उभिएको थियो। तर भीड र भवनबीचको दूरी घट्दै जाँदा, आदेश र गोलीबीचको दूरी पनि एकाएक हरायो।

गृह मन्त्रालयका तथ्याङ्कले भन्छ । दुई दिनमा ७६ जनाको ज्यान गयो, ३९ जनालाई गोलीले भेट्यो। कागजमा अंकहरू सरे; सडकमा रगत बग्यो। अंकहरू सधैं चिसा हुन्छन्, तर ती अंकका पछाडि घर-घरका तातो आँखा, आमाबुबाका काँपेका हात र अधुरा सपनाहरू हुन्छन्।

त्यो दिन संसद् भवन वरिपरि तैनाथ सुरक्षाकर्मीहरू आदेशको प्रतीक्षामा थिए। प्रहरी सञ्चारसेटबाट आएको निर्देशनले वातावरणलाई क्षणभरमै कडा बनायो । “के हेरेको? गोली चलाऊ।” आदेश कसको थियो भन्ने प्रश्न अहिले आयोगका कागजमा छ, तर गोलीको आवाज त्यस दिन आकाशमै लेखिएको थियो। उच्च क्षमताको तालिम पाएका विशेष फौजहरू, आधुनिक हतियारसहित, ‘नियन्त्रण’ र ‘नियन्त्रण बाहिर’ बीचको रेखा मेट्दै अघि बढे।

सुरुमा लाठी, अश्रुग्याँस, पानीको फोहरा, डमी राउण्ड, सबै थिए। तर जब कर्फ्युको घोषणा भयो, कानुनको दफाले सडकलाई थाम्न खोज्यो। त्यसपछि भने गोलीको भाषा बोलियो। त्रिवि शिक्षण अस्पतालको फरेन्सिक कक्षले अर्को कथा भन्यो । कम्मरमाथि लागेका गोलीहरू, टाउको, छाती, घाँटी र पेटमा छेडिएका घाउहरू। ‘हाई भेलोसिटी फायर आर्म’ यो शब्दले प्राविधिक सत्य बतायो, तर मानवीय पीडाको परिमाण बताउन सकेन।

साँझ, बालुवाटारमा प्रश्न उठ्यो । अत्यधिक बल प्रयोग कसरी भयो? भोलिपल्ट गोली नचलाउन भनिएको खबर आयो। तर त्यसअघिका राउण्डहरू फर्केर आएनन् । इतिहासले ‘यदि’ सुन्दैन, उसले केवल परिणाम लेख्छ।

आज उच्चस्तरीय जाँचबुझ आयोगले बयान लिइरहेको छ। बयानहरू शब्दमा बन्द छन्, तर सडकले अझै प्रश्न गर्छ। आदेशको उत्तरदायित्व कसको? नियन्त्रणको सीमारेखा कहाँ टुट्यो? राज्य र नागरिकबीचको भरोसा किन भाँचियो?

भदौका ती दुई दिन केवल आन्दोलनका दिन थिएनन्; ती दिन एक पुस्ताको विश्वास परीक्षणमा परेका दिन थिए। गोलीले भीड छरपस्ट पार्न सक्छ, तर प्रश्नहरूलाई होइन। प्रश्नहरू सहरको धुवाँसँगै उड्छन्, सायरनको आवाजसँगै गुञ्जिन्छन्, र प्रत्येक घरको ढोकामा आएर ढकढक्याउँछन् । न्याय कहिले आउँछ?

इतिहासले कहिल्यै हतार गर्दैन। तर सत्य ढिलो आयो भने पनि, आउनै पर्छ। किनकि सडकमा बगेको रगत सुक्छ, तर त्यसको रंग स्मृतिमा दीर्घकालीन रहन्छ।