कल्की संवाददाता बर्दिया – प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले बर्दियाबाट पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाको नाम सिफारिस गरेको छ। उनलाई कांग्रेसले प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट आगामी निर्वाचनका लागि आधिकारिक रूपमै अघि सारेको हो।
यसैगरी, बर्दिया क्षेत्र नम्बर १ बाट पूर्वसिँचाई मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य सञ्जय कुमार गौतमलाई प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। समानुपातिकतर्फ भने कांग्रेसका निवर्तमान उपसभापति मिश्रीलाल यादवको नाम सिफारिस गरिएको पार्टीका अधिकारीहरूले बताएका छन्।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि बर्दिया जिल्ला सभापति अरुण प्रकाश सिंह राठौरलाई पहिलो प्राथमिकतामा सिफारिस गरिएको छ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिको मंसिर २३ गते बसेको बैठकले ती नामहरू सर्वसम्मत रूपमा केन्द्रमा पठाउने निर्णय गरेको हो।
यससँगै बर्दियामा कांग्रेसले स्थानीय तथा राष्ट्रिय दुवै तहका निर्वाचनका लागि आफ्नो तयारीलाई तीव्रता दिएको देखिन्छ।







