April 23, 2026, Thursday
२०८३ बैशाख ११
Nepal 1:37:26 pm
Trending

सेना दिवसको सन्दर्भमा एनसीसीका प्रतिनिधि नेपालमा

440

कल्की संवाददाता
२०८२ फाल्गुन १

काठमाडौँ,। महाशिवरात्रि तथा नेपाली सेनाको २६३औँ वार्षिकोत्सव (सेना दिवस) को अवसरमा नेपालमा विशेष रौनक थपिएको छ। राष्ट्रिय सेवा दलले आयोजना गरेको युवा आदानप्रदान कार्यक्रममा सहभागी हुन विभिन्न देशका नेशनल क्याडेट कोर्प्स (NCC) का प्रतिनिधिमण्डल नेपाल आएका छन्।

नेपाल भ्रमणमा रहेका टोलीसँग प्रधान सेनापति महारथी अशोक राज सिग्देल ले जङ्गी अड्डामा माघ २९ गते शिष्टाचार भेटघाट गर्नुभयो। भेटमा भारतका NCC महानिर्देशक लेफ्टिनेन्ट जनरल वीरेन्द्र वात, पाकिस्तानका मेजर जनरल मुहम्मद शाहिद अब्रो, भुटानका ताशी नामग्याल र मालदिभ्सका लेफ्टिनेन्ट कर्नेल यासिर मोहामेदलगायत सहभागी थिए।

भेटका क्रममा आपसी हित, सैनिक सहकार्य र युवा आदानप्रदान कार्यक्रममार्फत मित्रता अझै बलियो बनाउने विषयमा सौहार्दपूर्ण छलफल भएको बताइएको छ।

विशेष समारोहमा सहभागिताः प्रतिनिधिमण्डलले सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री तथा रक्षा मन्त्रीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ। साथै, फागुन ३ गते सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने सेना दिवसको विशेष समारोहमा सहभागी भई परेड, सैनिक कौशल प्रदर्शन र सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने तालिका रहेको छ।

सांस्कृतिक भ्रमण पनिः भ्रमणका क्रममा टोलीले काठमाडौं उपत्यकाका विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्नेछन्। यसबाट नेपालका सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्य नजिकबाट चिन्ने अवसर मिल्नेछ।

युवामार्फत सम्बन्ध सुदृढः राष्ट्रिय सेवा दलको युवा आदानप्रदान कार्यक्रमले सहभागी देशका युवाबीच कला, भाषा, संस्कृति र नेतृत्वसम्बन्धी अनुभव साटासाट गर्ने अवसर प्रदान गर्दछ। यस्ता कार्यक्रमले युवास्तरमै मित्रता, समझदारी र सहकार्य बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यस अवसरले नेपाल र सहभागी देशहरूबीचको सम्बन्धलाई अझ आत्मीय र मजबुत बनाउने अपेक्षा गरिएको छ।