कल्की संवाददाता बारा– अन्तर्राष्ट्रिय नयाँ वर्ष मनाउन भारतीय पर्यटकहरू मधेसको स्थलमार्ग हुँदै दैनिक रूपमा नेपाल आउने क्रम बढ्दै गएको छ । नयाँ वर्ष मनाउने उद्देश्यले भारतको विभिन्न राज्यबाट मधेस हुँदै नेपाल प्रवेश गरेका भारतीय पर्यटकहरू नेपालको बागमती, गण्डकीसँगै मधेस प्रदेशमै रमाउन आउने क्रम बढेको हो ।
भारतीय पर्यटकहरूको कारण पर्साको ठोरी, सिमरा, अलेखगञ्ज, पथलैया, भन्द्रपुर, बर्दिबासदेखि सिन्धुलीसम्मका सामान्यदेखि स्तरीय होटल तथा लजहरू पुस महिनाको दोस्रो र तेस्रो सातासम्म बुकिङ उच्च रहने महासंघले जनाएको छ । अन्तिम दिन ३१ डिसेम्बर लक्षित गरी छोटो अनुमति लिएर आउने विहार प्रान्तका भारतीय पर्यटकहरू मधेस केन्द्रित बनेर रमाउने तथा उनीहरूले मदिरा र क्यासिनोमा खर्च गर्ने र नयाँ वर्षलाई स्वागत गर्दे आफ्नो देश फर्कने चलन जस्तै बन्न थालेको नाट्टाका मधेस प्रदेश महासचिव सुदर्शन काफ्लले बताए ।
भारतको लखनउदेखि परिवारसहित नयाँ वर्ष मनाउन नेपाल प्रवेश गरेका राजभाई शुक्लाको परिवार पछिल्लो समय मोबाइलमा देखिएको नेपालको रमणीय क्षेत्र पोखरा र चितवन निकुञ्जले आफूहरूलाई आकर्षित बनाएपछि यस वर्षको नयाँ वर्ष नेपालमा मनाउने उद्देश्यले परिवारसहित नेपाल आउन पाएकोमा खुसी छन् । उनले नेपालमा आउन सहज रहेको, धर्म संस्कृति मिल्दोजुल्दो, फरक प्रकृतिको भूभाग, भाषाको समस्या नहुने हुँदा अझ बढी सहज हुने बताउँछन् ।
साना तथा मझौला होटलमा पर्यटकको संख्या बढे पनि मधेसका तारे होटलमा भने व्यापार उत्साहजनक हुन सकेको छैन । भारतीय पर्यटकहरू नेपाल आउने क्रम बढेसँगै भारतीय लक्षित मनोरन्जनका कार्यक्रम मधेसका तारे होटलहरूले आयोजना नगरेपछि चितवन, पोखराले बढी भारतीय पर्यटक तानेको र सानो खर्चका भारतीय मात्रै मधेस वरपरका क्षेत्रमा रहन थालेको पर्यटन व्यवसायीहरू बताउँछन् ।
केही वर्षदेखि भारतीय पर्यटकहरूको अवसरका बेला आगमन बढ्दो हुन थालेपछि साना तथा मझौला होटल व्यवसायीहरू उत्साहित बन्दै बढी व्यापार गर्ने उद्देश्यले सस्तोमा सुविधा दिने प्रतिस्पर्धा जस्तै बनेको छ । अन्तर्राष्ट्रिय नयाँ वर्षमा मधेस प्रदेशमा भारतीय नै मुख्य पर्यटक बनेपछि उनीहरूको रुचि अनुसारको अन्य व्यापार समेत मधेसमा बढेको छ । पेट्रोलियम पदार्थसँगै फेन्सी, लत्ताकपडा, मौलिक सामग्रीका उत्पादनहरूको समेत बिक्री बढेको छ ।







