कल्की संवाददाता नेपाल प्रहरीले सामाजिक सञ्जालमा व्यक्त गरिएका अभिव्यक्तिका आधारमा कार्यरत एक उच्च अधिकारीमाथि विभागीय कारबाहीको प्रक्रिया सुरु गरेको छ। कार्य विभागमा जिम्मेवारी सम्हालिरहेका डीआईजी जयराज सापकोटाले केही दिनअघि तीन डीआईजीहरूको सरुवा निर्णयप्रति असन्तुष्टि जनाउँदै फेसबुकमा लेखेको स्टाटस अहिले उनको लागि गम्भीर प्रशासनिक चुनौती बनेको छ।
सरुवा निर्णयपछि उनले लेखेका थिए— “हम कभी नहीं सुध्रेङ्गे, नेपाल पुलिस डीआईजी पोस्टिङ”—जसलाई प्रहरी हेडक्वार्टरले संस्थागत आचारसंहिता विरुद्धको टिप्पणी ठहर गरेको छ।
हेडक्वार्टरका एक वरिष्ठ अधिकारीका अनुसार, सापकोटाले प्रहरी नियमावली २०७१, मिडिया नीति २०६० तथा आचारसंहिता २०७७ उल्लङ्घन गर्ने गरी सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका कारण विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको हो।
“मिडिया नीति तथा आचारसंहिताविपरीत गतिविधि भेटिएकाले आवश्यक कारबाही अघि बढाइएको छ,” स्रोतले उल्लेख गरेको छ।
प्रहरी संगठनभित्रको सरुवा–बिस्थापनजस्ता आन्तरिक निर्णयमा असन्तुष्टि देखिँदा पनि सार्वजनिक टिप्पणी नगर्नुपर्ने स्पष्ट प्रावधान छ। तर सापकोटाले सामाजिक सञ्जालमार्फत असन्तुष्टि प्रकट गरेपछि अब उनी संगठन–नियमअनुसारको कारबाहीको प्रक्रियामा प्रवेश गरेका छन्।
घटना सार्वजनिक भएपछि प्रहरी संगठनभित्रै पनि यसले चर्चा पाएको छ। अब औपचारिक कारबाहीले कस्तो रूप लिन्छ भन्ने प्रतीक्षा भने बाँकी नै छ।







