April 20, 2026, Monday
२०८३ बैशाख ७
Nepal 1:37:26 pm
Trending

जावेद अख्तरसँगको बहसमा, पाकिस्तान इस्लामिक राष्ट्र होइन भनेपछि फेरि विवादमा नदवी

665

कल्की संवाददाता
२०८२ पुष १३

भारत । भारतका चर्चित इस्लामिक विद्वान मुफ्ती ईशमाइल नदवीले पाकिस्तानलाई इस्लामिक राष्ट्रका रूपमा व्याख्या गर्न नमिल्ने बताएका छन्। सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा व्यापक रूपमा फैलिएको एक भिडियो सन्देशमा उनले इस्लामिक राष्ट्रको मापदण्ड पूर्ण रूपमा लागू नभएकाले पाकिस्तानलाई इस्लामिक राज्य भन्न नसकिने धारणा राखेका हुन्।

मुफ्ती नदवीका अनुसार कुनै पनि देशलाई इस्लामिक राष्ट्र भन्नका लागि त्यहाँ इस्लामिक कानूनहरू पूर्ण रूपमा लागू भएको हुनुपर्छ। तर पाकिस्तानमा त्यस्तो स्पष्ट र व्यवहारिक कार्यान्वयन देख्न नसकिएको उनको भनाइ छ। “इस्लामिक राज्य भनेको केवल नाम वा संविधानमा लेखिएको कुरा होइन, व्यवहारमा इस्लामिक कानून लागू हुनुपर्छ,” उनले भनेका छन्।

उनले पाकिस्तानमा शरीयत आधारित न्याय प्रणाली, सामाजिक न्याय, नैतिक शासन र इस्लामिक मूल्यहरू राज्य सञ्चालनको आधारका रूपमा स्पष्ट रूपमा लागू नभएको दाबी गरेका छन्। यही कारणले पाकिस्तानलाई इस्लामिक प्रणालीमा आधारित राष्ट्र भन्न नमिल्ने निष्कर्ष उनले निकालेका हुन्।

मुफ्ती नदवी हालै भारतका प्रख्यात लेखक तथा गीतकार जावेद अख्तरसँग ‘ईश्वरको अस्तित्व’ विषयमा भएको बहसपछि झनै चर्चामा आएका थिए। उक्त बहस भारत र पाकिस्तान दुवै देशमा व्यापक रूपमा चर्चा भएको थियो। नदवीका समर्थकहरूले बहसमा उनका तर्कहरू बलिया रहेको दाबी गरे भने आलोचकहरूले फरक दृष्टिकोण प्रस्तुत गरेका थिए।

पाकिस्तानसम्बन्धी उनको पछिल्लो अभिव्यक्तिले सामाजिक सञ्जालमा नयाँ बहस सिर्जना गरेको छ। धार्मिक, राजनीतिक र वैचारिक टिप्पणीकारहरूबीच यस विषयमा तीव्र प्रतिक्रिया देखिएको छ। कतिपयले नदवीको भनाइलाई वैचारिक स्पष्टता भनेका छन् भने कतिपयले यसलाई विवादास्पद टिप्पणीका रूपमा आलोचना गरेका छन्।

मुफ्ती नदवीको यो धारणा दक्षिण एसियामा इस्लामिक राज्यको परिभाषा, धर्म र शासन प्रणालीबीचको सम्बन्ध तथा व्यवहारिक कार्यान्वयनबारे नयाँ बहसको सुरुवातका रूपमा हेरिएको छ।