June 18, 2026, Thursday
२०८३ असार ५
Nepal 1:37:26 pm
Trending

गगन र विश्वप्रकाशको नेतृत्वमा महाधिवेशन हुँदै , तर सभापति देउवाबाट निम्तो अस्वीकार

840

कल्की संवाददाता
२०८२ पुष २६

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ, तर पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयले महाधिवेशनको निम्तो पत्र बुझ्न अस्वीकार गरेको छ ।आइतबारदेखि सुरु हुँदै गरेको विशेष महाधिवेशनका लागि देशभरबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् ।

शनिबार दिउँसो विशेष महाधिवेशन अतिथि स्वागत तथा सत्कार समितिका संयोजक रामपल्टन साह निम्तो पत्र बुझाउन सभापति देउवा निवास महाराजगञ्ज पुगेका थिए, तर देउवाका स्वकीय सचिव भानु देउवाले निम्तो पत्र बुझ्न अस्वीकार गर्दै साहलाई सभापतिसँग भेट्न नदिई फिर्ता पठाएका हुन् ।

साहले देउवा निवासमा भएको घटनाबारे जानकारी दिँदै भने, ‘मैले देउवा निवासमा गेट खोलेँ । त्यहाँ  मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि हुनुहुँदो रहेछ । उहाँलाई चिठी दिएँ । मलाई उहाँले किन चिठी दिने सभापतिजीलाई नै दिनुस् भन्नुभयो । त्यसको केहीबेरमा सभापति देउवाका स्वकीय सचिव भानुजी बाहिर निस्कनुभयो। उहाँलाई चिठी दिएँ, पढ्नुभयो । पढेपछि उहाँले चिठी मेरै खल्तीमा हाल्नुभयो र तपाईंलाई लाज लाग्दैन, बाहिर जानुस् भन्नुभयो ।’

संस्थापन पक्षका अधिकांश नेताहरूको विरोधबीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको माग बाध्यकारी रहेको भन्दै यो विशेष महाधिवेशन आयोजना गरेका हुन् । यसैबिच महामन्त्रीद्वय थापा र शर्माको समर्थनमा हुन लागेको दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । विशेष महाधिवेशन पक्षधर समूहले शनिबार यहाँ पत्रकार सम्मेलन गरी आइतबारदेखि सुरु हुने विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले विशेष महाधिवेशनलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न मञ्च व्यवस्थापनको काम सम्पन्न गरिएको जानकारी दिए । भृकुटीमण्डपस्थित खुला चौरमा हुने कार्यक्रमको मञ्चमा ५० कुर्सी र मैदानमा ६ हजारभन्दा बढी कुर्सीहरू राख्ने गरी व्यवस्थापन गरिएको संयोजक पुडासैनीले बताए ।मञ्च वरिपरि कांग्रेसको झण्डा, ब्यानर तथा प्रचारप्रसार सामग्री राखिएका छन् । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्‍यालीलाई व्यवस्थित गराउने गरी तयारी थालिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

विशेष महाधिवेशनमा आउने तीन हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाले जानकारी दिए । महाधिवेशन प्रतिनिधि बस्नका लागि काठमाडौँको सुन्धारा, बागबजार, ठमेल, एयरपोर्ट, सिनामङ्गल र गौशाला क्षेत्रका विभिन्न होटलमा व्यवस्थापन गरिएको उनले बताए ।